जापानमा ‘लिलिबिली’को प्रिमियर, दर्शकको राम्रो प्रतिक्रिया


सेलिब्रेटी नेपाल काठमाडौँ

चैत ३० गते नेपाल रिलिज हुने चलचित्र ‘लिलिबिली’को जापानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । जापानको टोकियोस्थित नकानो जिरो हलमा सम्पन्न प्रिमियरमा अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ र निर्माता गोविन्द शाही उपस्थित थिए । प्रिमियरमा सिनेमा हेरे पश्चात दर्शकले राम्रो प्रतिक्रिया दिएको आयोजक डेस्टिनी क्रियसन जापानबाट जानकारी प्राप्त भएको छ । दर्शकबाट पाएको प्रतिक्रियाले अभिनेता प्रदिप खड्का पनि दंग छन् । प्रदिप र जसिता आउने भनेकाले पनि दर्शकको उपस्थिती बाक्लो देखिएको थियो ।

उता निर्माता शाहीले जापानको दर्शक प्रतिक्रियाले उत्साहित बनाएको भन्दै खुसि व्यक्त गरे । ‘सबैले राम्रो चलचित्र हेर्न पाएको भन्दै बधाई दिएका छन् । आगामी दिनमा पनि यस्तै सिनेमा हेर्न पाइयोस् भन्ने आशा व्यक्त गर्नु भयो ।’ शाहीले भने । ‘हामी कसैको आशालाई निराशामा परिणत हुन् दिने छैनौँ । हामीले मिहिनेत गरेर राम्रो चलचित्र बनाएको थियौं । जसको नतिजा एकदमै सुखद मिलेको छ ।’

मिलन चाम्स निर्देशित चलचित्रमा प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठको पनि अभिनय रहेको छ । रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले प्रचारप्रसार तीव्र बनाउदै छ । चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी रहेको छ ।