जञ्जीर पहिलो शो बाट उठेको रकम सहयोग


(सेलिब्रेटी नेपाल) २० भाद्र-आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको चलचित्र ‘जञ्जीर’ले चलचित्रको पहिलो शोबाट निर्माताले प्राप्त गर्ने सबै रकम चलचित्रको कुकमेन स्वर्गीय बसन्त लिम्बुको परिवारलाई सहयोग स्वरुप प्रदान गर्ने भएको छ । चलचित्रको सुटिङका बेला लोकेसन हन्टिङका क्रममा कुलेखानी ड्याममा डुबेर मृत्यु भएका लिम्बुको परिवारलाई सहयोग स्वरुप उक्त रकम दिइने चलचित्रका प्रस्तुतकर्ता करण श्रेष्ठ क्रेजीले जानकारी गराए । बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा करणले उक्त घोसणा गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदीले चलचित्रले निर्णय गरेको यस्तो पुण्य कार्यको प्रशंसा गर्दै सफलताको कामना गरे।
Zanjeer-movie
मोहनकृष्ण श्रेष्ठ र राजेश खड्गी निर्माता रहेको फिल्मका निर्देशक शोभित बस्नेत रहेका छन् । जयकिशन बस्नेत, हर्षिका श्रेष्ठ, रिया श्रेष्ठ, सुस्मिता शाही, सुनिल गुरुङ, सुनिल रावल,सुमन लामालगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रका गीत संगीत ’ प्रदर्शन अगावै चर्चित भइसकेका छन । शंकर अधिकारी ‘घायल’ र दिनेश अधिकारीको शब्द रहेको गीतमा टंक बुढाथोकीको संगीत रहेको छ। कमेडी, लभस्टोरी र नारीप्रधान चलचित्रमा सुशिल पंगेनीको लेखन, शंकर महर्जनको द्वन्द्व, तारा थापा किम्भेको सम्पादन र गणेशकुमार श्रेष्ठको छायांकन रहेको छ ।