भ्रष्टाचारविरुद्ध प्रभावकारी औषधि ‘सयकडा दश’


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘सयकडा दश’ले मंगलबार राजधानीमा मिडियासँग अन्तरसंवाद कार्यक्रम गर्दै चलचित्रको बारेमा जानकारी गरेको छ अभिनेता मनोज गजुरेल आफू अभिनित चलचित्र ‘सयकडा दश’को बटमलाइन सुनाउँदै थिए ‘भ्रष्टाचार रोक्न प्रेम जरुरी ।’ उनले राजनीतिभन्दा प्रेम भ्रष्टाचारविरुद्ध प्रभावकारी औषधि हुने बताए ।

चर्चामा रहेको वाइडबडी भ्रष्टाचार प्रकरणको समाधान दीर्घकालिनरुपमा राजनीतिभन्दा प्रेमभित्र खोजिनुपर्ने उनको तर्क थियो । उनले चलचित्रलाई कला र मनोरञ्जनभन्दा समाजको रुपान्तरणका लागि प्रयोग गर्नुपर्ने खाँचो औंल्याए ।

निर्माता एवं अभिनेता राजाराम पौडेलले आफ्ना लागि पैसाभन्दा कलाले अर्थ राख्ने बताए । ‘दुई सय जति चलचित्रमा गरेँ हुँला, केही पेन्डिङमा होलान् । मेरा लागि सयकडा दश सर्वोत्कृष्ट हो’ उनले दाबी गरे ।

अभिनेत्री करुणा श्रेष्ठ र अभिनेता अमृत ढुंगानाले चरित्र चित्रणबारे चर्चा गरे । ‘गरेजति चलचित्रमा मैले पात्र र शैलीमा नयाँपन पस्कने प्रयास गरेको हुन्छु’ ढुंगानाले भने । डेब्यु गर्ल श्रेष्ठको भनाइमा ‘सयकडा दश’ चलचित्र–मेकिङ सिक्ने पाठशाला पनि हो ।

निर्देशक रामशरण पाठक रिलिज अगाडि प्राप्त प्रिभ्यूले पुलकित सुनिए । भन्छन, ‘गीत र ट्रेलरले दिलाएको सुखद फिडब्याकले खुशि अवश्य छु ।’ उनका अनुसार चलचित्रले माघ पहिलो सातादेखि देश दौडाहा थालनी गर्दैछ ।

चलचित्रमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवि डंगोल, रस्मी भट्टको मुख्य भूमिका रहेको छ । दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र सञ्जीव न्यौपानेले निर्माण गरेका हुन् । चलचित्र माघ १८ बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।