‘सयकडा दश’ प्रिमियर बैंककमा सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ: स्वदेश प्रदर्शनपूर्व ‘सयकडा दश’ले अन्तराष्ट्रिय प्रिमियर बैंककमा गरेको छ । स्थानिय मेजर एकमाइ हलमा आयोजित प्रिमियर नेपाली डायस्पोराले खचाखच बन्यो जहाँ नेपाली राजदूत समेत सहभागि रहे । थाइ नेपाली संघको आयोजनामा भएको प्रिमियरमा बर्मा र थाइल्यान्डका नेपाली भाषी समेत उपस्थित रहे । नेपालदेखि प्रिमियरमा भाग लिन निर्माता एवं अभिनेता राजाराम पौडेल पनि पुगेका थिए ।

बर्मेली अभिनेत्री सोनिया राईको समेत डेब्यु भएकाले चलचित्रलाई उक्त थलोमा महत्वका साथ लिइएको थियो । प्रिमियरमा पौडेल र एक्ट्रेस राई आकर्षण बने । थाइल्यान्डका लागि कार्यवाहक नेपाली राजदूत जंगबहादुर गुरुङ, थाइ नेपाली संघका अध्यक्ष कुमार कार्की, संस्कृति विभाग प्रमुख नानु कार्की लगायत तीनसय बढीले चलचित्र हेरे ।

प्रिमियरपछि प्राप्त प्रतिक्रियाले निर्माता खुशि छन् । राजदूत गुरुङले सामाजिक कथावस्तुले भरिपूर्ण चलचित्रलाई सरकारले बनाउनुपर्नेमा नीजि क्षेत्रबाट बनेकोमा धन्यवाद दिए । थाइ नेपाली संघका अध्यक्ष कार्कीले पुर्खाको देशको अवस्था चलचित्रमा हेर्दा दुःख लागेपनि फिल्म हेरेर युवा कस्सिए नेपाल भ्रष्टाचारमुक्त हुने बताए ।

अभिनेता पौडेलले आफूले आफूलाई पर्दामा हेर्दा रिस उठेको बताए । ‘जुन भूमिका मैले गरेको छु त्यसले हाम्रा नेताहरुको अनुहार झल्काउँछ’ उनले भने, ‘यसले मप्रति नै रिस उठ्यो ।’ पौडेलले युवालाई चलचित्र हेर्न आग्रह गरे । चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायतको मुख्य भूमिका छ । थाइल्यान्डका अन्य सहरमा समेत प्रदर्शन हुँदैछ भने म्यानमार प्रिमियर समेत आयोजना गरिएको छ । चलचित्र निर्माताले यी तीन देशबीच संस्कृति, अर्थतन्त्र विस्तारमा चलचित्रले भूमिका खेल्ने अपेक्षा गरेका छन् ।