नायिका रेखा थापा बच्चाको स्यार सुसारमा ब्यस्त


(सेलिब्रेटी नेपाल) १४ पौष-नेपाली फिल्म क्षेत्रकी पहिलो नम्बरकी नायिका रेखा थापा समाजसेवामा पनि सक्रिय हुन थालेकी छन् । शुक्रबार रेखा थापा फाउन्डेसनलाई औपचारिकता दिँदै नायिकाले चार राउटे बच्चाको अभिभावकत्व पनि ग्रहण गरेकी छन् ।
rekha-thapa-raute
पाँचदेखि ६ वर्ष उमेरका तीन बालिका र एक बालकलाई फाउन्डेसनमार्फत् रेखाले स्वयम्भूस्थित आनन्दकुटी विद्यालयमा पढाउने चाँजो मिलाएकी छन् ।
‘मेरा छोराछोरी हुन् । म यिनीहरूको अभिभावक हुँ,’ रेखाले डडेलधुराबाट ती बच्चाहरू ल्याउन उनीहरूका आमाबुबालाई निकै सम्झाउनुपरेको बताइन् । फाउन्डेसनको सिलसिलामा सुर्खेत र डडेलधुराका राउटे बस्तीमा पुगेकी रेखाले त्यहाँ गरेका सहयोगबारेमा पनि कार्यक्रममा श्रव्यदृश्य देखाइएको थियो । ‘आजसम्म तपाईंहरूले जे गर्नुभयो, अबको दिनमा यिनीहरूको पालनपोषण र शिक्षाको जिम्मेदारी मेरो भयो । आजदेखि मेरा छोराछोरी भए भनेकी छु’ रेखाले बच्चाका आमाबाबुलाई दिएको वचन सम्भिmइन् । बच्चाहरूको बिहेबारी लगायत कार्यको जिम्मेवारीसमेत आफूले लिएको बताउँदै रेखाले थपिन्, ‘उच्च शिक्षा पाइसकेपछि उनीहरू स्वतन्त्र हुनेछन् । मेरो उद्देश्यचाहिं उच्च शिक्षापछि उनीहरू त्यही बस्तीमा पुगेर अरूलाई कन्भिन्स गरून् ।’ निर्माता छवि ओझासँग डिभोर्सपछि यतिबेला चाबहिलमा आमासँगै बस्दै आएकी रेखाका आफ्नै सन्तान भने छैनन् ।
रेखाले राउटे बच्चाहरू आफूले एडप्ट नगरेको टिप्पणी गरिन् । ‘एडप्ट गर्‍या होइन मैले । उनीहरूको अभिभावक हो म । दिदी भनून् वा आमा भनून्, उनीहरूको कुरा हो ।’ कार्यक्रममा देखाइएको श्रव्यदृश्यमा बच्चाहरूलाई रेखा स्वयंले नुहाईदिएको समेत देखिन्थ्यो । यसरी स्याहार गरिदिँदा आमा बनेको अनुभव गरेको बताएकी रेखाले बच्चाहरूलाई भने यतिबेला आफूसँग नभई बोर्डस् राखेर पढाएकी छन् । किन त ?
‘उनीहरू साना छन् । मेरो साथमा राखेरभन्दा बिहानदेखि बेलुकासम्म टिचरको साथमा बसेर, साथीभाइसँग घुलमिल भएर छिटो संस्कार सिक्छन् । मसँग राख्दा पर्याप्त शिक्षा र सुसार नपाउलान् । बरु दुई/चार वर्षपछि भने मसँग राख्छु ।’ उनले रहर, इच्छा एकदमै हुँदाहुँदै पनि एक्लो अभिभावकले मात्रै नपुग्ने जिकिर गर्दै भनिन्, ‘जन्म दिने आमाबाट त उनीहरूले सिक्नुपर्ने जति सिकिसकेका छन्, अब गुरुबाट सिक्ने हो ।’ गैरनाफामुलक संस्थाका रूपमा विकास गरिएको रेखा फाउन्डेसनले बालबालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्र र उत्पीडित महिला र द्वन्द्वपीडितको क्षेत्रमा पनि सक्रिय रहने जनाएको छ ।
राउटे बस्तीमा पुगेर खाद्यान्न समेत बाँडेकी रेखाले शुक्रबार वैदेशिक रोजगारको सिलसिलामा कतारमा ज्यान गुमाएका गणेश विकका अभिभावकलाई ५० हजार रुपैयाँ सहयोग पनि गरेकी थिइन् । फिल्म क्षेत्रमा १२ वर्षदेखि क्रियाशील नायिका रेखाले फाउन्डेसन चलाउन यतिबेला आफ्नै पकेटबाट जोहो गरिरहेको बताइन् ।
इकान्तिपुर बाट साभार