‘रणबीर’ को फस्ट लुक्स सार्बजनिक


सेलिब्रेटी नेपाल
काठमाडौँ : आगामी १८ माघबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘रणबीर’ निर्माण अन्तिम चरणमा पुगेको छ । चलचित्रको प्रदर्शन मिति ६८ दिन बाँकी रहँदा निर्माण पक्षले फस्ट लुक्स सार्बजनिक गरेको छ । अभिनेता शुशिल सिटौलको चरित्रलाई केन्द्रित गरेर चलचित्रको फस्ट लुक्सको रुपमा नेपाली र अँग्रेजी टाईटलमा उनको एकल फोटो युक्त २ पोष्टर सोमबार सार्वजनिक गरिएको हो । अभिनेता शुशिलले यो चलचित्रको लागि ७० केजीबाट आफ्नो तौल १५ किलो बढाएर ८५ केजी तुल्याएका थिए । करिब नौ महिना नियमित जिम गरेर आफुले तौलसँगै शारीरिक सुगठन समेत यही चलचित्रको लागि बनाएको पनि शुशिलले बताए ।

यो चलचित्रलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । निर्माता रेग्मीका अनुसार फस्ट लुक्सकै शुशिलको ‘क्यारेक्टर पोष्टर’ सार्वजनिक गरिएको हो । आफुहरुले १८ माघमा रिलिजको समय गत असारमा लिएर प्रचारमा उत्रिएकाले यो चलचित्र सोही मितिमा आउने अर्की निर्माता गोमा बिष्टले बताएकी छिन् । यो चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । चलचित्र एक्सन प्रधान कथाबस्तुमा आधारित रहेको निर्देशक सिंहले बताएका छन् ।

शुशिल सिटौलासँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजालसहितको अभिनय रहेको छ ।चलचित्र ‘रणबीर’ करिब दुई करोडको लगानीमा निर्माण भएको यसका निर्माता दीपेन्द्रले जानकारी गराए ।चलचित्रको दुई गीतबाहेक बाँकी सबै छायाँकन सम्पन्न भएको छ । बाँकी रहेको दुई गीत १५ मँसिरबाट छायाँकन गरिने पनि उनले बताए ।