‘राम राम’ मा सौगात अनुबन्धित


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेता सौगात मल्ल केही समयको विश्राम पछि अब धमाधम चलचित्रमा काम गर्ने मुडमा देखिएका छन् । उनले अहिले एक पछि अर्को चलचित्र साइन गरिरहेका छन् । बिहिबार मात्रै शिशिर राणाको निर्देशनमा निर्माण हुने चलचित्र ‘पोई पर्यो काले’ साइन गरेका थिए । यस्तै, सौगात शुक्रबार सुवर्ण थापाको निर्देशनमा निर्माण हुने नयाँ चलचित्र ‘राम राम’मा अनुबन्धित भएका छन् । मुख्य कलाकार सौगातका अलवा निर्माण टिमले निर्देशकको रुपमा सुवर्ण थापालाई पनि शुक्रबार नै अनुबन्धित गरेको हो । सुवर्ण र सौगातले यसअघि ‘फन्को’ मा एकसाथ काम गरेका थिए ।

डाइमण्ड स्टार फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रका कथा तथा पटकथाकार दिनेश महत हुन् । मुख्य कलाकारको रुपमा सौगात मल्ल मात्रै पक्का भएका छन् । भने दशैबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रमा अहिले अन्य कलाकारहरु छनोटको कार्य चलिरहेका पटकथाकार दिनेश महतले बताए । ‘राम राम’मा अष्ट्रेलिया, जापान र हङकङमा बस्ने नेपालीको लगानी रहने छ ।