निर्माण नियन्त्रक शर्माको अवस्था गम्भिर


(सेलिब्रेटी नेपाल) ९ कार्तिक-चलचित्रकर्मी सरोज शर्मा गम्भिररुपमा अस्वस्थ भएका छन्। डेढ बर्षअघि पित्तको थैलीमा स्टोन देखिएपछि उनको स्वास्थ्यमा प्रतिकुलता बढ्दै गएको थियो। पित्त थैलीका समस्या देखिएपछि पहिलोपटक महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा अप्रेशन गराएका थिए। अप्रेशनपछि पनि दुखाई कम नभएकाले उनी फेरी सोही अस्पतालमा भर्ना भएका थिए।
Saroj-sharma
केही समयको अन्तरालमा आफैं हिडडुल गर्नसक्ने भएपछि शौचालय जाने क्रममा अचानक बेहोस भएका उनलाई माईतिघरस्थित अन्नपूर्ण अस्पतालमा भर्ना गरियो। त्यस बेला उनी ४ दिनसम्म कोमामा रहे। सीटी स्क्यान गर्दा उनको मुटु र फोक्सोको बीचमा रगत जमेको भेटीएपछि उनी शहिद गंगलाल अस्पतालमा पुर्याइएका थिए। चिकीत्सकले अप्रेशन गर्न नमिल्ने सल्लाह दिएपछि उनको अरु उपचार भए पनि अप्रेशन भने भएन। फेरी समस्या भएपछि गत सेप्टेम्बरमा उनी बागबजारस्थित मोडल अस्पतालमा पाँचौ पटक भर्ना भए। उक्त अस्पतालमा भर्ना भएको १४ औं दिनमा उनलाई अचानक निद्रा लाग्ने जस्तो भएपछि उनको शरीरको दाँया भागले काम गर्न छाड्यो। त्यसपछि १७औं दिनमा ह्विलचियरको सहाराले उनी आफ्नो निवास फर्किएका थिए। अहिले पनि आफ्नो दाँया भाग नचल्ने सरोजले जानकारी गराए।

नेपालमा गरिएका स्वास्थ्य जांच र उपचारबाट स्वस्थ नभएपछि तथा रोग डाइगनोसिस नभएपछि बाध्यतावश उनलाई भारतको दिल्लीस्थित अस्पतालमा उपचार गराई हालै मात्र काठमाडौं ल्याइएको छ। दिल्लीस्थित सर गंगाराम अस्पतालमा उपचार गराउने क्रममा उनलाई मेनेनजाइटिससंगै नेपालमा उपचार गराउने क्रममा चिकित्सकको लापरवाहीका कारण टाउकोमा रत्तश्राव भएको पाईएको थियो। गलत उपचारका कारण रत्तश्रावका भई रगत टाउकोका विभिन्न भागमा फैलिएको पाइएको थियो। शर्मालाई सो अस्पतालले आईसियुमा राखी आकस्मीकरुपमा टाउकोको शल्यक्रिया गरेर काठमाडौं पठाईदिएको हो। नशाको गम्भिर समस्या भोगिरहेका शर्माका अनुसार उपचारका लागि अस्पतालमै बस्नु पर्ने भए पनि आर्थिक अभावका कारण आफु र आप्mनो परिवारको आग्रहमा अस्पतालबाट डिस्चार्ज लिई काठमाडौं फर्केका हुन्। हाल पुरानो वानेश्वर चोकस्थित निवासमा बसेर स्वास्थ्यलाभ गरिरहेका उनी अहिले मोबाइल र एसएमएसबाट दिल्लीस्थित अस्पतालका चिकित्सकसग सम्पर्क गरी उनीहरुकै सल्लाहबमोजिम औषधोपचार गरिरहेका छन्। ‘अरु त ठिकै थियो, टाउको दुखाई फेरि शुरु भएकाले समस्या भएको छ’ सरोजले भने ‘डक्टरहरुले टाउकोको पेन राखेर नबस्नु, पेन भए तुरुन्तै आउनु भन्नु भएको छ। अहिलेलाई भने ३ दिनका लागि दुखाई कम गर्ने औषधी थपिदिनु भएको छ ।’ झण्डै ३ दशकदेखि नेपाली चलचित्र क्षेत्रलाई निर्माण नियन्त्रकका रुपमा योगदान दिएका तथा एउटा चलचित्रसमेत निर्माण गरेका शर्माले उपचारका क्रममा भएको रकम पनि सकिइसकेको र कतैबाट सहयोग समेत नपाएकाले थप उपचार गर्न समस्या भएको बताएका छन्।

‘चलचित्र विकास बोर्डमा रहेको चलचित्र कल्याण कोषबाट ५० हजारबाहेक कुनै पनि निकायबाट अहिलेसम्म सहयोग पाएको छैन। तर अरु चलचित्रकर्मीलाई यस्तो दुःख पर्दा यस्तो अभाव नहोस भन्ने चाहन्छु’ शर्मा भन्छन्। नेपालमै उपचारका लागि १५ लाखभन्दा बढी खर्च गरिसकेका उनले हालै दिल्लीमा उपचार गर्दा ६ लाख भारु सकिएको बताए। थप उपचारका लागि ३ देखि ६ लाख भारु खर्च लाग्ने उनी बताउछन्। स्वस्थ रहुञ्जेल दिनरात नेपाली चलचित्रका लागि भनेर बिताएका पतिलाई स्वास्थ्य समस्या पर्दा कतैबाट सहयोग र साथ नमिलेपछि उनकी पत्नी रुना शर्माले गहिरो गुनासो गरेकी छिन्। ‘उहांले यत्रो वर्ष नेपाली फिल्म लाइनकै लागि काम गर्नुभयो। घर परिवार, निजी जिन्दगी केही नभनी दिन रात यही क्षेत्रका लागि बिताउनु भयो । तर आज उहांलाई यति गम्भिर समस्या पर्दा हेर्ने कुनै निकाय भएन’ रुनाको भनाई छ ‘विकास बोर्डले समेत जम्मा ५० हजार रुपियां सहयोग गर्यो तर उहांलाई अस्पताल भर्ना हुंदा दिनकै ५० हजार रुपियां खर्च हुन्छ। यत्रो स्वास्थ्य संकट पर्दा पनि न उहांलाई कसैले सहयोग गरिरहेको छ, न भेटनै आएका छन्। ’ सरोजले आफु ठिक भए फेरि पनि नेपाली चलचित्रकै हितका लागि लागि पर्ने बताएका छन्। ‘म ठिक भएपछि फेरि पनि अहोरात्र यही क्षेत्रमा समर्पीत हुनेछु’ सरोजको भनाई छ।

चलचित्र भूमरीबाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेका उनले माया, परिभाषा, कन्यादानजस्ता चलचित्रमा नृत्यकारको रुपमा समेत काम गरेका छन् भने विश्वासघात, माया बसेछ, आवाज, किन लाएछु माया, प्रेमयुद्धलगायत दर्जनौं फिल्ममा निर्माणनियन्त्रक भएर काम गरेका छन् भने खुनी पायल नामक हिन्दी (नेपालीमा पाउजु) मा पनि उनले काम गरेका छन्। त्यस्तै विभिन्न टेलीसीरीयलहरु रंग नम्बर, नाता रगतको, मुक्ति, माटो ढुंगा होईन, विज्ञापन, परेली, परदेशी, प्रतिक्षा, अहंकार, आरम्भ, क्षण, गहना, आक्रोश, संजोग, अमर प्रेम, एक सहरमा एक कोठा, पालेदाई, भाई, पराईलगायतमा उनले विभिन्न भूमिका निर्वाह गरेका छन्। शर्माले अचानक नामक चलचित्र निर्माणसमेत गरेका छन्।