पुषको ठण्डी रातमा भिज्दा के भयो सलोन र रिस्तालाई


रंग पत्रकार लक्ष्मण सुवेदी निर्देशित एउटा साथी यही शुक्रबार अर्थात् २१ कात्तिकदेखि देशभर प्रदर्शन हुँदै छ। सो चलचित्रको एक दृश्यको छायांकन मध्य जाडो अर्थात् गत १५ पुसको राति मध्य बानेश्वरको सडकमा आर्टिफिसियल पानी पारेर गरिएको थियो। अहिले जाडो याम सुरु भइसकेको छ। फिल्मका मुख्य पात्र सलोन बस्नेत, रिस्ता बस्नेत, जोन तामाङ र रबिना खड्कासमेत साढे चार घन्टा निरन्तर पानीमा भिजेका थिए। मध्य पुसको जाडोमा ट्यांकरको पानीमा कठ्यांग्रिँदै भिजेर अभिनय गरेका सलोन र रिस्ताको अनुभूति :
Rista-Basnet_zohn-tamang
एक्सिडेन्टमै फोकस थिएँ-सलोन बस्नेत

‘नेपाली बाबु’मा बालकलाकारका रूपमा मैले फिल्ममा डेब्यु गरेको हुँ । ‘नेपाली बाबु’मा पनि मैले पुसमै पानीमा रुझेर अभिनय गरेको थिएँ । ‘होस्टेल’ फिल्ममा पनि भिजेँ तर फागुनमा । बाइक स्टन्ट भने अहिलेसम्म गरेको थिइनँ ।

एउटा साथीको सो दृश्यमा पानीमा रुझ्नुभन्दा पनि भिज्दै बाइक एक्सिडेन्ट गराउनु मेरा लागि निकै नयाँ र चुनौतीपूर्ण अनुभव थियो । रोयल इन्फिल्ड बाइक थियो । त्यति ठूलो बाइक छ, कसरी एक्सिडेन्ट गर्ने मात्रै ध्यान हुन्थ्यो । बाइक पल्टाउँदा म आपैँmलाई केही होला कि भन्ने डर थियो । झमझम पानी पारिएको छ, भिजेको पिचमा बाइक घिसार्दा ब्यालेन्स नमिलेर खुट्टा भाँचियो भने के होला भन्ने डर थियो । त्यसैले मेरो फोकस बाइक एक्सिडेन्टको सिनमा बढी थियो ।

म तीन घन्टाभन्दा बढी भिजिनँ । नाइट सेड्युलमा भिज्नुपरेको थियो, हल्का विकनेसचाहिँ थियो । त्यसले इफेक्टचाहिँ गरेन । सुत्नुअघि मलाई ज्वरो आउला कि भन्ने लागेको थियो, अल्छी मात्रै लाग्यो । पानी हालुन्जेल जाडोको फिल हुँदो रहेनछ, पानी हाल्न छाडेपछि मात्र काम्न थालिँदो रहेछ । त्यो रातको सुटिङले एक्टिङ गर्न सजिलो छैन, जो पायो त्यहीले गर्न नसक्ने रहेछ भन्ने फिल ल्यायो । एकपटक त म किन यो फिल्डमा आएँ जस्तो लागेको थियो । अब फिल्म रिलिज हुँदै छ । अहिले त्यो दृश्य हेर्दा चिसोको महसुस हुन्छ । अब फेरि त्यस्तै जाडोमा, त्यस्तै आर्टिफिसियल वर्षामा भिज्नुपर्‍यो भनेचाहिँ धेरै सोच्नै पर्छ । आशा छ, त्यति धेरै मिहिनेतका साथ गरेको उक्त दृश्यले दर्शकलाई अवश्य पनि आनन्दित तुल्याउनेछ ।

अहिले सम्झँदा पनि काँप्छु-रिस्ता बस्नेत
सुटिङ मध्यपुसको राति थियो । दिउँसो नै जाडोले जिउ कमाउँथ्यो, झन् मैले त राति भिज्नुपथ्र्यो । सुटिङ हुनुभन्दा दुई दिनअघिदेखि नै मन अत्तालिएको थियो । तैपनि, मैले आज राति भिज्नुपर्छ, जुनै हालतमा पनि मैले गर्नैपर्छ भनेर माइन्ड मेकअप गरिसकेकी थिएँ । बडी वार्मअप गर्नलाई दुई/तीन घन्टाअघिदेखि नै सुटिङको ड्ेरस लगाएर बसेकी थिएँ । ज्याकेटसमेत लगाएकी थिइनँ ।

सट लिने तयारी भयो । फस्र्ट सटका लागि दौडिँदै थिएँ, एक्कासि शरीरमा पानी परेपछि आच्छु भनेछु, दाँत ‘ङि’ भएछ । ‘तिमी हाँस्यौ’ भनेर निर्देशक सरले त्यो टेक फेरि लिनुभयो । खासमा म हाँसेकी थिइनँ, शरीरमा एक्कासि चिसो पानी परेकाले अत्तालिँदा हाँसेकोजस्तो देखिएको रहेछ । त्यसकारण त्यो सट पुन: लिइयो ।

फस्र्ट सट लिएपछि धेरै जाडो होलाजस्तो लागेको थिएन । रात छिप्पिँदै गयो, झन्झन् जाडो हुन थाल्यो । सुरुका दुई घन्टा त त्यति धेरै जाडो फिल गरेकी थिइनँ । मध्यरातपछि झन्झन् चिसो हुँदै गएपछि त पानी परेको भागमा छिर्न नपरे पनि हुन्थ्यो भन्ने लाग्न थाल्यो । बिस्तारै मेरो कम्मरमुनिको भाग चल्नै छाड्यो । आगोमा नबसी हिँड्नै नसक्ने भएँ, बाथरुम जाँदा पनि सिँढी उक्लन गाह्रो हुन्थ्यो । जाडोले बोल्न नै सकिरहेकी थिइनँ । बिहानको समयमा पनि डायलग बोल्नुपथ्र्यो भने सायद म सक्दिनथेँ होला । त्यत्तिको जाडो त मैले कहिल्यै फिल गरेकी थिइनँ ।

सुटिङ सुरु भएको दुई घन्टाभित्र बोल्नुपर्ने संवाद सबै सकिए । त्यसपछिका दृश्य लड्ने, पानी पर्ने, बेहोस हुने मात्रै थियो । सुटिङ सकिन–सकिन लाग्दा अब सक्दिनँ कि भन्ने लाग्न थालेको थियो । भुइँमा लड्नुपर्ने दृश्य तीन स्टेप चालेर मात्र लड्थेँ । जमिन झन् यति चिसो रहेछ कि माथिबाट पानी परेको महसुस नै हुन छाडिसकेको थियो । लगलग काँप्दा जिउले जमिन नै छुँदैनथ्यो । त्यसले गर्दा जे सोचेर त्यो सटका लागि रेडी भएकी थिएँ, त्यति न्यायचाहिँ गर्न सकिनँ कि जस्तो लागेको छ । जोन, सलोन र रबिना, तीनैजनासँग मेरो सट परेकाले सबैभन्दा बढी पानीमा म नै भिजेँ । त्यतिवेला जाडोले गर्दा आफ्नो काम चित्तबुझ्दो भएन कि जस्तो पनि लागेको छ । तर, अहिले हेर्दा ठिकै गरेछु भन्ने लाग्छ ।

मेरी मामु पनि सुटिङमा सँगै हुनुहुन्थ्यो । पानी त पसिहाल्छ, तैपनि मलाई चिसो नलागोस् भनेर उहाँले भिक्स, सन्चो र पछ्यौरी साथमा ल्याउनुभएको थियो । सट सकिनेबित्तिकै मामु आएर ओढ्ने ओडाइदिनुहुन्थ्यो, सन्चो र भिक्स लगाइदिनुहुन्थ्यो । घर पुगेपछि पनि उहाँले खुट्टा, हात र जिउमा तेल लगाइदिनुभयो । सिलाजित खान दिनुभयो । टाउको, घाँटी र निधारमा सन्चो लगाइदिँदै हुनुहुन्थ्यो, म निदाएछु । सुत्नुअघि म सद्दे नै उठ्छु भनेर सोचेकी थिइनँ । सायद मामुको माया र केयरले होला, त्यस्तो जाडोमा त्यति लामो समय पानीमा रुझ्दा पनि म बिरामी भइनँ । तर, दुई/तीन दिनसम्म हातको नसाचाहिँ दुखिरह्यो । अहिले फिल्म हेर्दा त्यो दृश्यमा निकै आनन्द लाग्छ । तर, त्यो रात सम्झँदा भने अहिले पनि काँप छुट्छ । विशेष सोमा फिल्म हेरेका जति सबैले तारिफ गरेका छन् । त्यसकारण मिहिनेतको मीठो फल प्राप्त हुनेमा विश्वस्त छु ।
नयाँ पत्रिका बाट साभार