निर्माता तथा हलसंचालक अशोक शर्माले उम्मेदवारी दिने घोषणा


ashok sharma

(सेलिब्रेटी नेपाल) १८ बैशाख-भर्खरै निर्देशक समाजको चुनाब सकियको छ अबको शनिबार निर्माता संघको चुनाब हुँदै छ । यस पालिको चुनाबमा पुरानै दुइ अनुहार  अध्यक्ष पदमा निर्माता संघका बर्तमान अध्यक्ष राजकुमार राई र निवर्तमान अध्यक्ष अशोक शर्मा उठ्ने तयारी गरेका छन् । निर्वाचनका लागि निर्माता तथा हलसंचालक अशोक शर्माले उम्मेदवारी दिने घोषणा गरेका छन् । वुधबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै अशोकले सिनेमा नगरीको विकास लागि सबैको आग्रहमा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए ।उनले कलाकारिता, फिल्म हल सञ्चालन,फिल्म निर्माण, प्रदर्शन र वितरणको समेत अनुभव भएकाले अहिलेको अवस्थामा देखिएको सम्पूर्ण समस्यालाई आफूले  हल गर्न सक्ने तर्क राख्दै रहर भन्दा पनि  समयको माग अनुसार संस्थाप्रतिको दायित्व बोध भएर पुनः अध्यक्ष पदमा उठ्ने निर्णय गरेको बताएका छन् ।

 
निर्माता संघको चुनाब
अशोकले उम्मेदावरी घोषणा गर्दै प्रस्तुत गरेको प्रतिबद्धता पत्रको पूर्ण पाठ यसप्रकार छ :
नेपाल चलचित्र निर्माता संघ
१२ औं साधारणसभा । २१ वैशाख, २०७०

अशोक शर्मा, अध्यक्ष पदको उम्मेद्वार
नेपाली चलचित्र क्षेत्र अत्यन्त अप्ठ्यारो स्थितिबाट गुजि्ररहेको अवस्थामा यही वैशाख २१ गते नेपाल चलचित्र निर्माता संघको १२ औं साधारणसभा हुँदैछ । चुनावी साधारणसभा भएकाले यसले आगामी तीन वर्षका लागि संघको नेतृत्व पनि चयन गर्नेछ ।
नेपाली चलचित्र क्षेत्रलाई विद्यमान अप्ठ्यारोबाट पार लगाउन यस सभाबाट निर्वाचित नेतृत्वको अहम् भूमिका हुन्छ । यही पृष्ठभूमीमा नेपाली चलचित्रकर्मका अग्रजहरुको सल्लाह, समकालिनहरुको सुझाव र युवाहरुको आग्रहलाई ध्यानमा राखेर सबै पक्षसँगको लामो विचार-विमर्शपछि मैले आफूलाई अध्यक्ष पदको उम्मेद्वारका रुपमा प्रस्तुत गरेको छु । चलचित्र क्षेत्र अप्ठ्यारोमा परेको बेला यही क्षेत्रको एक सिपाही हुनुको नाता टुलुटुलु हेर्न नसकेरै मैले यो उम्मेद्वारी दिएको हुँ । नेपाल चलचित्र निर्माता संघको स्थापनाकालदेखि ६ वर्ष महासचिव र तीन वर्ष अध्यक्षका रुपमा मैले संघको सेवा गर्ने अवसर पाइसकेको पृष्ठभूमीमा मेरो यो उम्मेद्वारी व्यक्तिगत रहरभन्दा पनि समयको मागअनुसार संस्थाप्रतिको दायित्व एवं जिम्मेवारीवोध हो । त्यही दायित्व एवं जिम्मेवारीवोधका साथ निम्न एजेन्डाको आधारमा चुनावी प्रतिस्पर्धा गर्ने व्यहोरा सार्वजनिक गर्दछु ।
१. नेपाल चलचित्र निर्माता संघको आन, वान र शान कायम राख्दै संघलाई नेपाली चलचित्र क्षेत्रकै मियो संस्थाका रुपमा स्थापित गर्न कुनै कसर बाँकी राखिने छैन । यस क्रममा निम्नानुसारका कार्य गर्न प्रयत्न गरिनेछन् :
क) चलचित्र क्षेत्रसँग सम्वद्ध सबै संघ-संस्थासँगको ऐक्यवद्धता, नेपाली निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको साथ, राजनीतिक पार्टीहरुको विश्वास र सरकारसँगको सहकार्यमा नेपाली चलचित्र क्षेत्रलाई मनोरञ्जन प्रदान सांस्कृतिक उद्योग बनाउने अभियान अगाडि बढाइनेछ ।
ख) स्थापनाकालदेखि नै चलचित्र क्षेत्रकै मियो संस्था रहेको नेपाल चलचित्र निर्माता संघको गिर्दो शाखलाई उकास्न र पछिल्लो समय चलचित्र नचल्दा यसका सदस्यमा व्याप्त निराशा र कुण्ठालाई चिर्न संघका पुराना र नयाँ सदस्यबीच अनुभव आदानप्रदान, पुनर्मिलनलगायतका क्रियाकलापमार्फत् आत्मस्वाभिमान जागरण अभियान सञ्चालन गरिने छ ।
ग) चलचित्र निर्माणलाई व्यवस्थित गर्न चलचित्रसँग सम्बद्ध विभिन्न संघ-संस्था, चलचित्र विकास बोर्ड र सूचना तथा सञ्चार मन्त्रालयसँग सहकार्य गर्दै संघमा विशेषज्ञतासहितको चलचित्र निर्माण परामर्श डेस्क स्थापना गरिने छ । नयाँ चलचित्र निर्माताको हितलाई ध्यानमा राखेर स्थापना गरिने डेस्कले चलचित्र क्षेत्रका बारेमा आवश्यक पर्ने यावत सूचनासहितको परामर्श उपलव्ध गराउने छ ।
घ) पछिल्लो समय चलचित्र क्षेत्रमा बढ्दो अराजक लठैतको प्रयोग हामी सबै चलचित्रकर्मीका लागि लज्जा र चिन्ताको विषय बनेको छ । यस्तो कुसंस्कृतिको यथाशक्य चाँडो समूल नष्ट हुनु आवश्यक छ । यसका लागि हरसम्भव प्रयत्न गरी निर्धक्कसाथ चलचित्र निर्माण, वितरण एवं प्रदर्शन गर्न सकिने वातावरणको निश्चितता प्रदान गरिने छ ।
ङ) नेपाली चलचित्रको स्तरवृद्धिका लागि सैद्धान्तिक एवं व्यवहारिक दुबैखाले ज्ञानको नितान्त आवश्यक छ । यसका लागि पढेर आएका चलचित्रकर्मीहरुको सैद्धान्तिक ज्ञान र परेर आएका चलचित्रकर्मीहरुको व्यवहारिक ज्ञानलाई समायोजन गर्न चलचित्रसँग सम्बन्धित संघसंस्था, सरकारी निकाय र अन्तर्राष्ट्रिय स्रोत व्यक्तिहरुको समेत सहभागितामा नियमित रुपमा कार्यशालाहरु आयोजना गरिने छन् ।
च) २१ औ शताव्दी चलचित्रको शताव्दी हो । यसका लागि अन्तराष्ट्रिय मापदण्डको विश्वविद्यालयस्तरीय अध्ययन अध्यापन पनि आवश्यक हुन्छ । यस क्रममा हाल सञ्चालनमा रहेको चलचित्र कलेजको स्तरवृद्धिका लागि प्रयत्न गरिनुका साथै अन्य गुणस्तरीय चलचित्र कलेज खोली स्नातकोत्तर तहको अध्ययन अध्यापनका लागि समेत आवश्यक पहल गरिने छ ।
२. नेपाली चलचित्र क्षेत्र अहिले अप्ठ्यारो स्थितिबाट गुजि्ररहेकाले यतिबेला चलचित्रसँग सम्बन्धित सबै संघ-संस्थाबीच सहकार्यको संस्कृति सुरु गर्न आवश्यक छ । यस क्रममा नेपाल चलचित्र संघसँग परम्परागत रुपमै केही असमझदारी रहदै आएको व्यहोरा सबैमा विदितै छ । ती असमझदारीलाई सम्भव भएसम्म वार्ता र संवादको माध्यमबाट र कथम्कदाचित त्यसरी सम्भव नभए अन्य हरसम्भव माध्यम प्रयोग गरेर भए पनि निर्माताको पक्षमा निर्णय गराउन प्रतिवद्ध रहनेछु । यस क्रममा निम्नानुसारका कार्य गरिनेछन्ः
क) चलचित्र प्रदर्शन गर्ने क्रममा हलमा निर्मातालाई अनैतिक रुपमा विभिन्न शीर्षकमा लगाइने अतिरिक्त खर्च र स्थानीय करका नाममा असुलिने रकम खारेज गर्न हरसम्भव प्रयत्न गरिने छ ।
ख) नेपाली चलचित्र निर्माताको व्यावसायिक प्रवर्द्धन गर्न कुनै कसर बाँकी नराख्ने गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार वैज्ञानिक किसिमको बक्स-अफिस लागू गराउन हरसम्भव प्रयत्न गरिने छ ।
ग) नेपाली चलचित्रको डिजिटल प्रदर्शनका क्रममा लिइने भीपीसी (भच्र्युअल पि्रन्ट कस्ट) चलचित्रको पर्फमेन्सका आधारमा पूर्णतः छुट गराउन प्रयत्न गरी ‘भीपीसी होलिडे’ लागू गरिनेछ । यसका लागि प्रदर्शकहरुसँग चरणवद्ध वार्ता भइसकेको र त्यसका लागि उनीहरु सकारात्मक भएकाले यसमा सफलता हात पार्ने निश्चितप्रायः छ ।
घ) राम्रो चलचित्र राम्रो प्रणालीअनुसार राम्रो चलचित्र घरमा लाग्यो भने मात्र चल्छ । यस स्थापित तथ्यलाई ध्यानमा राखी चलचित्र र चलचित्र घरको वैज्ञानिक वर्गीकरणका लागि प्रयत्न गरिने छ ।
ङ) हरेक साता ठूलो संख्यामा चलचित्र प्रदर्शन हुँदा निर्माताहरु ठूलो व्यावसायिक मारमा परेका छन् । यो मारबाट निर्मातालाई जोगाउन प्रदर्शनलाई सुव्यवस्थित गर्न आवश्यक छ । यससँग जोडिएका धेरै पक्ष छन् र तिनीहरुको चरणवद्ध सम्वोधन हुनु आवश्यक मात्र हैन,अपरिहार्य छ । त्यसका लागि हरसम्भव प्रयत्न गरिने छ ।
३) नेपाली चलचित्र क्षेत्रमा पाइरेसी एक जबर्जस्त समस्याका रुपमा रहदै आएको छ । यस समस्यालाई समाधान गर्न धेरै प्रयत्न भए पनि आजसम्म पनि त्यसले खासै सकारात्मक परिणाम ल्याउन सकेको छैन । त्यसैले यसपटक यस समस्यालाई जरैदेखि उखेलेर फाल्न पाइरेसी विरुद्ध युद्धको घोषणा नै गरिने छ । ‘गर या मर’ को यस युद्धमा सफलता हात पार्न कुनै पनि कसर बाँकि राखिने छैन ।
४) नेपाली चलचित्रको सेन्सर गर्ने क्रममा सेन्सर बोर्डबाट मनोगत निर्णय पनि हुन थालेका छन् । सेन्सरबोर्डको यो निरंकुशतालाई चिर्न सेन्सर बोर्ड, चलचित्र विकास बोर्ड र चलचित्रसँग सम्बन्धित संघसंस्थाको सहकार्यमा चलचित्र निर्माण आचारसंहिता ९ऋयमभ या ऋयलमगअतक० बनाउन आवश्यक छ । त्यसको व्यवस्था गरी त्यसैको आधारम चलचित्र निर्माण र सेन्सर गर्ने परिपाटी निर्माणका लागि प्रयत्न गरिने छ ।
५) नेपाली चलचित्रको कमाइका क्षेत्रलाई व्यापक बनाउन सीआरवीटी, स्याटलाइट राइट्स र इन्टरनेट राइट्सको दायरालाई व्यवस्थित गर्न आवश्यक छ । यसका लागि संघको मातहतमा विज्ञहरु सम्मिलित प्रविधि परामर्श डेस्क स्थापना गरी निर्माताहरुको हित संरक्षण र व्यावसायिक प्रवर्द्धन गरिने छ ।
६) नेपाली चलचित्रको दीगो विकासका लागि चलचित्रको अन्तर्राष्ट्रियकरण नगरी हामीलाई सुखै छैन । यसका लागि संघले सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड, चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्था र गैर-आवासीय नेपाली संघ -एनआरएन) को सहकार्यमा अन्तर्राष्ट्रिय नेपाली चलचित्र सम्वर्द्धन एवं समन्वय परिषद्को स्थापना गर्नेछ । परिषद्ले निम्नानुसारका कार्य गर्ने छ ः
· नेपालीहरुको बसोबास रहेको प्रवास ९म्ष्बकउयचब० मा नेपाली चलचित्रको प्रवर्द्धन एवं प्रदर्शन गर्नका लागि स्थानीय संघ संस्थाको सहभागितामा सम्भव भएसम्म हरेक देशमा अन्तर्राष्ट्रिय नेपाली चलचित्र सम्वर्द्धन एवं समन्वय परिषद्को च्याप्टर स्थापना गरी त्यसमार्फत् चलचित्र महोत्सव तथा अवार्ड समारोह आयोजना गर्ने, संस्थागत प्रणालीमार्फत् चलचित्रको वितरण गर्नेलगायतका कार्य अगाडि बढाइने छ । यस क्रममा २०७० सालमै एक मुलुकमा चलचित्र महोत्सव आयोजना गरिनेछ । र, यो क्रम आउँदा वर्षहरुमा क्रमशः बढाउँदै लगिने छ ।
· परिषद्कै समन्वयमा विभिन्न मुलुकमा रहेका नेपाली राजदूतावासमार्फत् नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणलाई अगाडि बढाउन थप प्रयत्न गरिने छ ।
परिषद्कै समन्वयमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा उत्कृष्ट नेपाली चलचित्रहरुको सहभागिताका लागि आवश्यक संस्थागत पहल गरिने छ । त्यसको थालनी २०७० सालबाटै गरिने छ ।
प्रस्तुत एजेन्डा चुनावका लागि तयार गरिएका हत्कण्डा हैनन्, नेपाली चलचित्रको जीवन-मरणसँग गाँसिएका मेरा प्रतिज्ञा हुन् । तिनै एजेण्डा पूरा गर्ने वचनवद्धताका साथ मैले आफूलाई अध्यक्ष पदको उम्मेद्वारका रुपमा प्रस्तुत गरेको हुँ । यही प्रतिज्ञापत्रमा विश्वास राख्ने समान सोच र कोण भएका साथीहरुको सल्लाह तथा सहभागितामा प्यानल नै बनाइ चुनावी प्रतिस्पर्धामा उत्रनुपर्ने परिस्थिति आएमा त्यसका लागि तयार रहेको पनि जानकारी गराउन चाहन्छु । तर, संघको सर्वोतम हितका लागि सर्वसम्मतिका लागि अन्तिम समयसम्म पनि मेरो तर्फबाट प्रयत्न जारी रहने छ । चलचित्र क्षेत्र नै अप्ठ्यारोमा गुजि्ररहेको बेला हुन लागेको नेपाल चलचित्र निर्माता संघको यो चुनाव संस्थाको गरीमा र सामाजिक प्रतिष्ठामा कुनै पनि प्रकारको आँच नआउने गरी मूल्य, मान्यता र सिद्धान्तका आधारमा होस् भन्ने मेरो विनम्र चाहना छ ।
म र मेरो प्यानलले यही मान्यताका आधारमा स्वस्थ चुनावी प्रतिस्पर्धा गर्नेछ । र, चुनावी माहौलमा प्रवेश गर्ने जो कोही मित्रबाट पनि यही प्रकारको शालिन व्यवहारको अपेक्षा समेत राखेको छ । किनकि, कुनै पनि संस्थाको आवधिक चुनाव सबैभन्दा सुन्दर प्रजातान्त्रिक अभ्यास हो । यसले संस्थाको संस्थागत जीवनलाई अरु परिपक्व र पस्किृत बनाउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । तर, यस लक्ष्मणरेखालाई कसैले नाध्ने प्रयत्न गर्‍यो भने त्यसको शालिन प्रतिवाद गर्नु पनि आफ्नो कर्तव्य बनेर आउँछ, त्यसका लागि आफू तयार रहेको व्यहोरा पनि अवगत गराउँछु । राज्यको चौथो अंग पत्रकारिता जगतलाई साक्षी राखेर मेरो यो उम्मेद्वारी घोषणा गर्दै सबै पक्षबाट सहयोग, सद्भाव र साथ प्राप्त गर्ने हार्दिक अपेक्षा राखेको व्यहोरा समेत अनुरोध गर्दछु ।
धन्यवाद ।
१८ वैशाख, २०७०