एनएफडीसी अवार्ड दोस्रो संस्करणमा सम्पादन सहित ४ विधा थपियो


(सेलिब्रेटी नेपाल) १० असोज-नेपाली चलचित्र क्षेत्रकै जीवित र दिवंगत कलाकर्मी र चलचित्र पत्रकारिताका हस्तीका नामबाट सम्बन्धित विधाको अवार्ड नामाकरण गरी प्रदान गरिएको पहिलो एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारको चर्चा नसेलाउँदै यसको दोस्रो संस्करणको तयारी शुरु भएको छ। नेपाली चलचित्र, चलचित्रको समृद्धि, विकास, विस्तार र परिमार्जन गर्ने उद्देश्यले नेपाल चलचित्र विकास कम्पनीले गत वर्षदेखि प्रदान गर्न थालेको एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७० मा विभिन्न ४ विधा थप गरी यस वर्ष २० विधामा अवार्ड प्रदान गरिने भएको छ। हाललाई भने अवार्डका लागि संयोजकसहित ५ सदस्य रहेको निर्णायक मण्डलले १७ विधाका लागि पहिलो ४ महिनामा प्रदर्शित ३४ चलचित्रको मूल्यांकन गरी प्रारम्भिक मनोनयन सार्वजनिक गरिएको छ।
nfdc-Award-nomination
गत वर्ष जम्मा १६ विधाका लागि प्रदान गरिएको अवार्डमा यसपालि अभिनेता विश्व बस्नेतमा समर्पित विश्व सर्वोत्कृष्ट नवनायक, अभिनेत्री चैत्यदेवी सिंहमा समर्पित चैत्य सर्वोत्कृष्ट नवनायिका, संगीतकार शुभबहादुर सुनाममा समर्पित शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत र चलचित्रकर्मी तुलसी घिमिरेमा समर्पित तुलसी सर्वोत्कृष्ट सम्पादक विधा गरी ४ विधा थप गरिएको आयोजक कम्पनीले जनाएको छ। चलचित्र उद्योगमा २५ वर्षभन्दा बढी आफ्नो जीवनको समय खर्चेर यस क्षेत्रलाई योगदान पुर्याएका तथा विद्यमान रुपमा क्रियाशील रहेका विशिष्ट चलचित्रकर्मीलाई सम्मान गरी उनीहरुको नामबाट अवार्ड प्रदान गरिन थालेको हो।
हरेक ४ महिनामा प्रारम्भिक मनोनयन सार्वजनिक गरी वर्षको अन्त्यमा यही मनोनयनलाई आधार मानेर अन्तिम प्रतिस्पर्धाका लागि उत्कृष्ट ५ सार्वजनिक गरिने कम्पनीले जनाएको छ। चलचित्र ऐनको व्यवस्थाअनुसार अवार्ड आयोजना गर्नका लागि चलचित्र विकास बोर्डको पूर्वस्वीकृति लिई बोर्डसहित चलचित्र क्षेत्रका विभिन्न संघ संस्था, चलचित्रकर्मी तथा चलचित्र विशेषज्ञसँगको परामर्श र सल्लाहमा राष्ट्रिय चलचित्र पुरस्कारको टम्स् अफ रिफेन्स तयार पारी पुरस्कार स्थापना गरिएको थियो।

यस वर्ष पनि अवार्डका सम्पूर्ण विजेतालाई सम्मानपत्र, ट्रफीका साथमा नगद राशीसमेत प्रदान गरिने भएको छ। जसमा सर्वोत्कृष्ट चलचित्र निर्देशकलाई नगद १ लाख १ हजार र मह जुरी (क्रिटिक्स) अवार्डका विजेतालाई नगद ५१ (विदेशी स्रष्टाको हकमा ट्रफी, प्रमाणपत्र र ५ सय ५५ यूएस डलर) प्रदान गरिनेछ। कुसुमे रूमाल सर्वोत्कृष्ट व्यावसायिक चलचित्रलगायतका अन्य विधाका अन्य सम्पूर्ण विजेतालाई नगद ५१ हजार प्रदान गरिने कम्पनीले जनाएको छ। नेपाल सरकार चलचित्र ऐन २०२६ तथा चलचित्र नियमावली २०५७ बमोजिम निर्माण भई केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भई वर्षभरिमा नेपालका कम्तीमा ५ चलचित्र घरमा व्यावसायिक रूपमा प्रदर्शित चलचित्र र उक्त चलचित्रमा संलग्न कलाकार, प्राविधिज्ञ तथा लेखक यस पुरस्कारका लागि छनोट प्रक्रियामा स्वतः सामेल हुने कम्पनीकी अध्यक्ष निकिता पौडेलले जानकारी गराएकी छिन्।
नेपाल समाचार पत्रबाट साभार