नेपाली सिनेमा भदौमा भाले भिडन्त


(सेलिब्रेटी नेपाल) काठमाडौँ
साउन २ मा हिन्दी फिल्म ‘किक’ को रिलिजले गर्दा स्वदेशी कुनै फिल्म रिलिज भएनन्। त्यो क्रम दोस्रो सातासम्म पनि चल्यो। सलमान खानको ‘किक’ ले देशभरका हलमा हालीमुहाली गर्‍यो। साउनको तेस्रो सातामा आएर ‘मेरो भ्यालेन्टाइन’ ले मात्रै चल्ने हिम्मत जुटायो। भदौमा भने कुरा बेग्लै छ। हिन्दी फिल्मसँग भिड्न तर्सिने नेपाली फिल्महरू आपसमा भने ज्यान फालेर जुध्दै छन्।
Thuli-poster
भदौरे भेल फिल्ममा पनि लागू हुने भएको छ। साउनमा खासै रिलिज नभएका नेपाली फिल्म भदौको सुरुवाती शुक्रबारदेखि नै हरेक साता दुईभन्दा बढी स्वदेशी फिल्म भिडदैछन्। ६ गते एकसाथ तीन फिल्म ‘ताण्डव’, ‘सम्बोधन’ र ‘ठूली’ ले भिडन्तको खाता खोल्नेछन्। तीनै फिल्म विधागत दर्शकका हिसाबले आ—आफ्ना ठाउँमा सम्भावना बोकेका हुन्। एक्सन थि्रलर जानरामा बनेको ‘ताण्डव’ बेलायती निर्देशक मुरे केरका कारण पनि चर्चामा छ। यसअघि उनको ‘सिक सिटी’ फिल्मले सकारात्मक रिभ्यु बटुलेको थियो। त्यसबाहेक पहिलो फिल्म ‘वधशाला’ बनाएर संवेदनशील विषयमा लगानी गर्न हिम्मत गर्ने निर्मातामा चिनिएका मोहन डोटेलले यसलाई उच्च व्यावसायिक सम्भावनाका साथ फिल्म रिलिज गर्न लागेका छन्। ग्यांग वारमा आधारित फिल्मको मेकिङबाहेक संलग्न कलाकार नम्रता श्रेष्ठ, र्‍यापर लाहुरेको नामले युवा पुस्तामा परिचित आशिष राना, अनुप बराल, ऐलेन गुरुङ, विपिन कार्की लगायतको अभिनयले फिल्मलाई उच्च कोटिको बनाएको अनुमान छ।
Tandab-poster
‘ताण्डव’ सँगै रिलिज हुने अर्को फिल्म ‘सम्बोधन’ की नायिका नम्रता भने दुवैमा समान हुन्। उनका फ्यानका लागि भने दुवै फिल्म उत्तिकै महत्त्वपूर्ण हुन सक्छन्। ‘ताण्डव’ मा एक्सन लेडीको भूमिकामा देखिएकी उनी ‘सम्बोधन’ मा भने एक टीभी पत्रकारको रूपमा प्रस्तुत भएकी छन्। यसअघि डेब्यु फिल्म ‘होस्टेल’ निर्देशन गरेरै हिट भइसकेका हेमराज बीसीको त्यसपछिको फिल्म भएकाले पनि ‘सम्बोधन’ मा ठूलो आशा गरिएको छ। दयाहाङ राई, विनय भट्ट, प्रशान्त ताम्राकार समेत रहेको फिल्म ‘सम्बोधन’ लाई राष्ट्रभक्तिको विषयमा थि्रलर प्रस्तुति दिइएकाले दर्शकलाई सामयिक लाग्ने अनुमान छ। गरिमा पन्त र जीवन लुइँटेलको जोडी रहेको फिल्म ‘ठूली’ पनि भदौ ६ मा नै रिलिज हुनेछ। सूर्य बोहोराको निर्देशन रहेको उक्त फिल्म महिला पात्र केन्दि्रत भएकाले पनि तीजको छेकोमा ग्रामीण दर्शकलाई बढी तान्ने ठानिएको छ। तीन फिल्मले देशभरका हल आफ्नो पोल्टामा पार्न यतिबेलादेखि नै कसरत सुरु गरिसकेका छन्। उक्त साता हिन्दी फिल्म ‘मर्दाङ्गिनी’ बाहेक कुनै उल्लेख्य फिल्म आउने छैन। त्यसैले पनि भिड्न लागेका फिल्मले नै एकछत्र हल पाउने आशाका साथ उत्रेका हुन्।

अघिल्लो साता तीन फिल्म मैदानमा उत्रन नपाउँदै भदौको दोस्रो साता थप तीन फिल्म ‘नाइके’, ‘उत्सव’ र ‘यो कथा हो तिम्रो मेरो’ थपिनेछन्। अघिल्लो साताका फिल्मले हल ओभर कायम राखी दोस्रो सातामा आए भने भिडन्त अझ चुनौतीपूर्ण हुनेछ। आर्यन सिग्देलको एक्सन रहेको नेत्र गुरुङ निर्देशित फिल्म ‘नाइके’ नियमित दर्शकमा रुचाइन सक्छ। यसअघि आर्यनको ‘नोभेम्बर रेन’ ले राम्रो व्यापार गरेकाले पनि विवाहित आर्यनका फ्यान अझै छन् भन्ने देखाएको छ। ‘नाइके’ सँगै जोडकातोड गर्दै कुमार भट्टराई निर्देशित फिल्म ‘उत्सव’ मैदानमा उत्रने भएको छ। भट्टराईको डेब्यु निर्देशन रहे पनि ट्रेलरले फिल्मलाई प्रतिक्षित बनाइदिएको छ। फिल्ममा सौगात मल्ल, प्रकृति श्रेष्ठ, गौरव पहारी लगायतका कलाकारको भूमिकालाई युवा दर्शकले रुचाउनेमा फिल्मकर्मी ढुक्क छन्। त्यसबाहेक ओम प्रतीकको निर्देशन रहेको फिल्म ‘यो कथा हो तिम्रो मेरो’ मा सुमन सिंह र रिश्ता बस्नेतको जोडीले पनि भिडन्तलाई थप कठिन पार्नेछ।
Rabi-Karki-Rishta-Basnet
चार शुक्रबार रहेको भदौको तेस्रो साता थप दुई फिल्म रिलिज हुनेछन्। ‘स्टुपिड मन’ र ‘बिर्खेलाई चिन्छस्’ दुवै नायकको लगानी रहेका फिल्म हुन्। दिवाकर भट्टराईको निर्देशन रहेको ‘स्टुपिड मन’ मा नायक नीरज बरालको अभिनय र लगानी दुवै छ भने अराज केशवको निर्देशन रहेको ‘बिर्खेलाई चिन्छस्’ मा सुवास थापाको। नीरजसहित जीवन लुइँटेल पनि रहेको फिल्ममा चाँदनी शर्मा र रज्जु श्रेष्ठ पनि छन्। थाइल्यान्डमा खिचिएका उक्त फिल्मका रमणीय दृश्यले दर्शकलाई थप लोभ्याउन सक्नेछन्। तर स्वदेशी जनजीवनको एक आम पात्रलाई टिपेर फिल्मांकन गरिएको ‘बिर्खेलाई चिन्छस्’ ले पनि लोकल स्वाद दिने अनुमान छ। फिल्ममा सुवासले नयाँ नायिका आयुषा राईसँग जमाएको जोडीलाई दर्शकले रुचाउनेमा फिल्म पक्षधर ढुक्क छन्। तर भदौ २० मा रिलिज हुने यी फिल्मलाई बलिउड फिल्म ‘मेरी कोम’ को चुनौती पनि खेप्नुपर्नेछ। उक्त फिल्ममा नेपाली कलाकार सुनील थापाको मुख्य भूमिका रहेकाले पनि स्वदेशी दर्शकका लागि हेर्न योग्य बन्न सक्नेछ। र, भदौको अन्तिम शुक्रबार विनोद सेरेङ निर्देशित ‘निशानी’ र सुवास कोइराला निर्देशित ‘पुन्टे परेड’ लाग्दै छन्। ‘निशानी’ मा पूर्व इन्डियन आइडल प्रशान्त तामाङको अभिनय रहेको छ भने ‘पुन्टे परेड’ मा संयम पुरी र एन्जिला दाहाल रहेका छन्। चार साताका लागि अहिलेसम्म दस फिल्मले रिलिज मिति निश्चित गरिसकेका छन् भने अझै केही फिल्मले आपतकालीन अवतरण गरे भने अनौठो हुने छैन। खासमा स्वदेशी बजारमा फिल्म वितरकको लहडमा र इगोमा पनि फिल्म जुधाउने गलत प्रथा बसेको छ। यस्तोमा अझ स्वदेशी फिल्मको बजार बिगार्न रातारात भोजपुरी र दक्षिण भारतीय फिल्मलाई नेपालीमा डबिङ गरी चलाउने पनि गरिन्छ। यदि यस्तो अवस्था आएमा भदौको भेल अझ गड्गडाएर बग्नेछ। तर नेपाली फिल्मकर्मीले बुझ्नुपर्ने कुरा, भेलले जहिल्यै हानि नै गर्छ।
इकान्तिपुरबाट जस्ताको तेस्तै