ब्यापार घटे पनि चलचित्रको भिडन्त घटेन


(सेलिब्रेटि नेपाल) काठमाडौँ
हलमा दर्शक नआए पनि निर्माताहरूले भने मेरो फिल्म के कम भन्दै भिडाउने गरेका छन् । आफ्नो फिल्म मात्र राम्रो, आफ्नो मात्र दमदार ठान्ने र अरूको फिल्मलाई फिल्म नमान्ने, उपहास गर्नेहरूको बिगबिगीका कारण कुनै विशेष पर्व, बिदा या अवसरविनै चारवटासम्म फिल्म एकै दिन रिलिज हुने गरेका छन् ।

चाडपर्व आउनु कहाँ हो कहाँ, पहिल्यै आफ्नो फिल्मको रिलिज डेट फिक्स गर्ने र हल्ला पिटाउने क्रम अझै बढ्दै गइरहेको छ । माघे संक्रान्तिको बिदा खानका लागि पुस २५ मा एकसाथ तीन नेपाली फिल्मको भिडन्त भयो । फिल्म थिए–अलबिदा, आभास र तथास्तु । यी फिल्मका निर्माता, निर्देशक तथा कलाकारसमेतले जे दाबी गरिरहेको भए पनि व्यापार भने तीनै फिल्मको गतिलो छैन । कहीँ कतै तेस्रो हप्तामा प्रदर्शन भइरहेको भए पनि तीनवटै फिल्मले आफ्नो लगानीसमेत नउठाउने आँकडा हलवाला र वितरकको छ ।
Jiwan-neeta-dhoon
के आर्यन सिग्देल, के रेखा थापा, आफूलाई सुपरस्टार ठान्नेहरूका फिल्म लगानीसमेत कभर गर्न नसक्ने अवस्थामा छन् । कास्टिङमै सुपरस्टार लेखाएर के भो ? हलमा दर्शक त आएनन् नै, अब यिनका आगामी फिल्मले पनि धक्का खाने निश्चित देखिएको छ । फिल्म बजारमा पछिल्लो समय कतिपयले रेखा थापा र आर्यन सिग्देललाई सुपरस्टार भन्ने गरेका थिए । उनीहरूको ‘स्टार पावर’ धमका त परै जाओस्, सामान्य पटाकासम्म पनि हुन सकेन ।
एकसाथ अनेक फिल्म जुध्नाले निरन्तर घाटाको व्यापार भइरहेको छ । सबै कुरा थाहा हुँदाहुँदै पनि जुध्ने क्रममा भने रत्तिभर कमी आएको छैन ।
Tiger-real-hero
संविधानसभाको बहानामा भएका बन्द र हडतालका कारण शुक्रबार आगो–२ सिंगल रिलिज हुन पायो । तर पनि, अपेक्षित व्यापार गर्न सकेको छैन । अबको साता अर्थात् १६ गते भने दुई फिल्म रिलिज हुँदै छन्– हेमराज बिसीको सम्बोधन र राजु गिरीको टाइगर दी रियल हिरो । कोहिनुरका कारण सम्बोधनको ६ भदौको रिलिज स्थगित गरिएको थियो । राजनीतिक विषयमा निर्माण गरिएको बताइने सम्बोधनसँगै एक्सन लभस्टोरी भनिने टाइगर दी रियल हिरो प्रदर्शन हुँदै छ । यी दुवै फिल्मको प्रचार–प्रसार भने पर्याप्त मात्रामा हुन सकेको छैन ।

माघ तेस्रो साता अर्थात् २३ गते भने एकसाथ चार फिल्म रिलिज हुने भएका छन् । फिल्म छन्– रथ, स्केप, लोग्ने मान्छे र सुनपानी । एकै दिन चारवटा फिल्म लाग्दा कुनले कति हल पाउँछन्, त्यो भने निर्माता र वितरक स्वयंलाई नै थाहा छैन ।
Sunpani-Poster
लय संग्रौलाको निर्देशनमा बनेको लोग्ने मान्छेलाई नारीवादी फिल्म भनिएको छ भने कैलाश अधिकारीले निर्देशन गरेको रथलाई सामाजिक प्रेमकथा भनिन्छ । त्यसैगरी, लागुऔषध दुव्र्यसनविरुद्धको आवाज भनिने स्केप सन्देशयुक्त फिल्म भन्दै आइएको छ । अनि, सबिन बास्तोलाको निर्देशनमा बनेको सुनपानी भने नेपाली समाजमा विद्यमान जातीय छुवाछुतविरुद्धको फिल्मका रूपमा प्रचार गरिएको छ । यसरी हेर्दा यी चारवटै फिल्म आ–आफ्नै विशेषतायुक्त छन् । अनि, यी चारै फिल्मको रटान छ– हरेक नेपालीले हेर्नैपर्छ । कुन फिल्म हेर्ने, कुन नहेर्ने, त्यो भने मात्र दर्शकको हातमा छ ।

फागुन १ गते भने राजकुमार राईको वान वे नामक फिल्म सिंगल रिलिज हुने भएको छ । पहिला सो मितिमा सुव्रत आचार्य निर्देशित अर्धकट्टी पनि प्रदर्शन हुने घोषणा गरिएको थियो । तर, यी दुई फिल्मका निर्माताले ‘लोकतान्त्रिक पद्धति अपनाउने’ भन्दै गोलाप्रथा गरेका थिए । जसमा वान वेले सिंगल रिलिजको चान्स पाएको हो । अर्धकट्टी भने जेठतिर रिलिज गरिने सुन्नमा आएको छ ।

फागुन दोस्रो साता अर्थात् ८ गते भने तीन फिल्मको भिडन्त हुने देखिएको छ । पूर्वघोषणाअनुसार उक्त मितिमा वसन्त निरौलाको आवेग, शिशिर राणाको माला र मुनाल घिमिरेको इच्छा प्रदर्शन हुनेछन् । इच्छा माघ २ गते नै रिलिज हुने फिल्म हो । तर, बन्द र हडतालको त्रासमा फागुन ८ मा पुगेको छ । माघे संक्रान्तिको दिनमै मल्टिप्लेक्स हलमा रिलिज गरिएको नम्रता श्रेष्ठको सोल सिस्टरले भने न दर्शक पायो, न तारिफ नै । फागुन तेस्रो साता भने दुई फिल्म भिड्दै छन्– अझै पनि र मिसन पैसा रिलोडेड । अझै पनि निर्देशक सुदर्शन थापा हिरो भएको र स्व. निर्देशक आलोक नेम्वाङ निर्देशित अन्तिम फिल्म हो भने मिसन पैसा रिलोडेड माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् ।

फागुन तेस्रो साता अर्थात् २२ गते भने आर्यन सिग्देल अभिनीत पुनर्जन्म, नवल खड्काको भीमदत्त र पासाङ लामाको झिग्राना मैदानमा उत्रँदै छन् । तीनवटै फिल्मले आफूलाई तगडा दाबी गर्दै आएका छन् । कसमा कति छ दम, त्यो भने रिलिजपछि नै थाहा हुनेछ । फागुन २९ गते भने ऋषि न्यौपानेको जोस फिल्म रिलिज हुने जानकारी आएको छ । हुन त उनले जोस पहिला असोज ३१ मा रिलिज गर्न लागेका थिए । तर भएन । पछि माघ ९ हुँदै अहिले आएर २९ फागुन भनेका छन् । अहिले तोकिएको मितिमा जोस आउँछ, आउँदैन, त्यो भने कन्फर्म छैन ।
Resham-Filili
चैत महिनामा भने फिल्म नै फिल्मको जुधाइ हुने भएको छ । चैत ६ मा सुशील शाहको धुन आउँदै छ भने सोही मितिमा अग्रज केसीको दबदबा पनि रिलिज हुने बताइएको छ । धुनको एक सातापछि अर्थात् १३ गते भने योगेश घिमिरेको भुलभुलैया रिलिज हँुदै छ । चैत २० मा दिनेश पौडेलले आवारा रिलिज गर्ने योजना बनाएका छन् । चैत अन्तिम साता अर्थात् २७ गते भने तीन फिल्मको साँढे जुधाइ हुने भएको छ । फिल्म हुन्– छवि ओझाको हवलदार सुन्तली, विकास आचार्यको नाइँ नभन्नु ल–३ र नीर शाहको सेतो बाघ ।

दिनेश डिसीको फूलैफूलको मौसम तिमीलाई पनि चैत २७ मै रिलिज हुने हल्ला चलेको थियो । तर, त्यो हल्लामै सीमित भएको छ । अर्थात्, फूलैफूलको मौसम तिमीलाई पूर्वघोषित मिति ११ वैशाखमै रिलिज हुने तयारीमा छ । यद्यपि, सो मितिमा दीपकराज गिरी वडा नम्बर ६ र विनय श्रेष्ठ रेशम फिलिली रिलिज गर्ने तयारीमा छन् । ०७१ मा मात्र होइन, नेपाली फिल्मको जुधाइ ०७२ सालमा पनि अझ तीव्र हुने संकेत फूलैफूलको मौसम तिमीलाई, वडा नम्बर ६ र रेशम फिलिलीले देखाएका छन् ।

लेखक-लक्ष्मण सुवेदी नयाँ पत्रिका दैनिक बाट साभार