नम्रता ‘प्रसाद’ लाई लिएर उत्साहित


सेलिब्रेटी नेपाल

काठमाडौँ : आउँदो मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रसाद’ नेपाली समाजको कथा भएको चलचित्रकी मुख्य नायिका नम्रता श्रेष्ठले बताएकी छिन् । उनले एक पत्रकार भेटघाटमा बोल्दै यो चलचित्र समाजकै आफ्नै कथा भएको र चलचित्रका पात्र समाजका पात्र भएको बताइन् । ‘यो चलचित्र सोसल ड्रामा’ हो, म ‘प्रसाद’ लाई लिएर केही उत्साहित पनि छु नर्भस पनि छु, किनकि फिडब्याक राम्रो आइरहेको छ तर दर्शकको चाहना पूरा गर्न सकिने हो कि हैन भनेर डर पनि लागिरहेको छ ।’, नम्रताले भनिन् ।

चलचित्रमा बाबुराम र रमेश बनेका दुई पात्र विपिन कार्की र निश्चल बस्नेतले शूटिङको बेलामा पश्चिमे टोन ल्याउनलाई उत्तिकै सहयोग गरेको पनि उनले बताइन् । ट्रेलरमा उनको बोल्ने तरिका केही भिन्दै छ ।‘लै लै’ र ‘वनकी चरी’ बोलको गीतलाई दर्शकले रुचाएका छन् । यो चलचित्रको ट्रेलरले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रको चर्चाका कारणले युरोप, अस्ट्रेलिया लगायतका देशको राइटस् पनि विक्री भइसकेको निर्माण टिमले जनाएको छ ।

सुबास थापाले निर्माण गरेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रलाई सुशील पौडेलले लेखेका हुन् । चलचित्रले निःसन्तान दम्पतीको जीवनमा आइपरेका अनेक समस्यालाई उठाएको छ ।