मनिषाले जितिन क्यान्सरलाई सुनाइन आफ्ना कथा व्यथा


(सेलिब्रेटी नेपाल) २८ भाद्र-क्यान्सर ! समाजले यो शब्द सुन्ने बित्तिकै मृत्युको पर्यायवाचीका रुपमा लिन्छन् तर बलिउडकी चर्चित नेपाली नायिका मनिषा कोइरालाले क्यान्सरमाथि विजय प्राप्त  गरिन् । क्यान्सरले उनको तेजिलो मुहारको चमक पनि धमिलो बनाएको थियो। छाला उस्तै गोरो भए पनि चमक हराएको।क्यान्सर डाक्टरहरुको अन्तर्राष्ट्रिय गोष्ठीमा शुक्रबार काठमाडौंको याक एण्ड यती होटलमा प्रमुख अतिथि हुन आएकी मनिषा अहिले पुरै फेरिइसकेकी छिन्। उनको मुडुलो टाउको अहिले कालो तर छोटो कपालले ढपक्क ढाकेको छ। अनुहारमा चमक थपिएको छ। पहिला दुव्लाएर छिन्न लागेको घाँटीमा मासु थपिएको मात्र छैन, लुरा हात, पाखुरा पनि मासु भरिएर कसिला भएका छन्।गोलो आकारको कालो चस्मा लगाएर आएकी मनिषा १०/१५ वर्षअघि उनको करिअरमा जमेका बेलाजस्तै राम्री देखिन्थिन्।

Manisha-koirala-cbn

“मैले यो विजय मृत्युमाथि नै प्राप्ति गरेँ। नयाँ जीवन लिएर तपाइँहरुका अगाडि आएकी छु। मलाई लागिरहेछ ‘क्यान्सर मृत्युको पर्यायवाची होइन’ क्यान्सरविरुद्धको लडाइँ जित्न सकिँदो रहेछ।” करिब दुई वर्षको अन्तरालपछि आज यहाँ एक सार्वजनिक कार्यक्रममा प्रशन्न अनुहारमा देखा परेकी  नायिका कोइराला आफूले क्यान्सरमाथि गरेका सङ्घर्षका कथाव्यथा सार्वजनिक गर्दै  छिन् ।

दुई वर्षअघि काठमाडौँमा आफ्ना बाबा र आमाका साथमा रहेकी नायिका कोइरालाले आफूलाई असजिलो भएको ठानिन्। निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराइन । अस्पतालाले भारत सिफारिस गरिदियो। त्यसपछि भारतबाट उनी परीक्षणका लागि अमेरिका पुगिन्। अमेरिकामा मात्र क्यान्सर भएको पत्ता लाग्यो। “मैले मन दरो बनाइ। क्यान्सरमाथि विजयप्राप्त गर्छु भन्ने हिक्मत कसेँ। चिकित्सकलाई सोधेँ अब के हुन्छ? चिकित्सकले चिन्ता नगर्नु भने” नायिका कोइरालाले भनिन ।

नेपाल क्यान्सर सोसाइटी, अमेरिकन क्यान्सर सोसाइटी र विनययात्रा फाउन्डेसनद्वारा क्यान्सर रोकथामसम्बन्धी नेपालमा पहिलोपटक आयोजित कार्यक्रमका प्रमुख अतिथि थिइन् – क्यान्सरमाथि लडाइँ गरी पुनःजीवनमा यात्रा सुरु गरेकी नायिका कोइराला।

क्यान्सरका बारेमा भनिन् “सुरुका क्यान्सर भएको पत्ता लागेमा निको हुँदै रहेछ। समयमै उपचारतिर लाग्नुपर्छ। मैले यहाँ नेर थाहा पाएँ जीवनको कति महत्व रहेछ । उपचारको जति महत्व छ त्यसका विरुद्धमा जुध्नसक्ने क्षमता विकास गर्नुपनि त्यत्तिकै महत्व हुन्छ।”

नायिका कोइरालाको भारतमा उपचारका क्रममा संलग्न चिकित्सक प्रा डा दिनेश पन्दुकरले भन्नुभयो, “रोगका विरुद्धमा लड्न सक्ने क्षमताले आधा रोग निको हुन्छ। त्यो क्षमता नायिका मनिषामा पाएँ।” सुरुका अवस्थामा देखिएको क्यान्सर रोग निको हुन्छ । क्यान्सरका उपचारको जति महत्व छ, रोगप्रति हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन आउनु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ प्रा पन्दुकरले बताउनुभयो। चलचित्र अभिनय नै आफ्नो कर्मथलो भएकाले त्यतातिर पुन आउने उनले बताईन ।