‘जानी नजानी’ एउटीलाइ मुटुमा घर अर्कीलाई कलेजीमा कभर भिडियो कम्पिटिसन


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘जानी नजानी’ को सार्वजनिक पहिलो गीत ‘एउटीलाई मुटुमा घर…’ कभर भिडियो प्रतिस्पर्धा घोषणा गरिएको छ । बिहिबार काठमाडौंको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकार भेटघाट कार्यक्रममा आयोजना गर्दै कभर भिडियो प्रतिस्पर्धा घोषणा गरिएको हो । केही समय पहिले सार्वजनिक चलचित्रको गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत, अम्बिका शर्माको शब्द तथा संगीतकार पोखरेल र गायिका दुर्गा खरेलको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा चलचित्रका मुख्य कलाकार मनिष श्रेष्ठ, निरिशा बस्नेत र सुमी मोक्तानलाई फिचर्ड गरिएको छ ।

निर्माण टिमका अनुसार गीतको कभर भिडियो कम्तीमा एक मिनेटको हु्नु पर्नेछ । त्यो भन्दा माथि चार मिनटसम्मको भए पनि फरक पर्दैन । ‘उत्कृष्ट कभर भिडियो बिजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टिभी, दोश्रो हुनेले रोवाकै फाईभ पइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुन क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुने एक जनाले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षसम्मको लागी फिल्म डिप्लोमा कोर्स अध्ययन गर्न पाउने छन् ।’ ‘जानी नजानी’का निर्देशक बसन्त अधिकारीले भने, ‘कभर भिडियो यही २० फागुनभित्र janinajani2018@gmail.com इ-मेलमा पठाइसकनु पर्नेछ ।’

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । चलचित्रमा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ । प्रेम कथामा आधारित चलचित्रको कथा, पटकथा तथा संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै चलचित्र मार्फत थुप्रै सफल सिनेमामा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन ।

चलचित्रमा मनिष श्रेष्ठ र निरिशा बस्नेताका अलावा सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको अभिनय रहेको छ । चलचित्रमा संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी, बसन्त घर्ति मगरको भीएफएक्स, अर्जुन जिसीको सम्पादन, रहेको छ । चलचित्र चैत्र १ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।