अष्टनारायणले ‘गुनगुन’ हटाएपछि निर्माताको आपत्ति


सेलिब्रेटी नेपाल

काठमाडौँ : राजधानीको अष्टनारायण सिनेमा हलले शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेत्री संचिता लुईटेल स्टारर चलचित्र ‘गुनगुन’ शनिबार हटाएपछि निर्देशक तथा निर्माता पुकार भट्टराईले आपत्ति जनाएका छन् । राम्रो व्यापार हुने दिन (शनिबार) चलचित्र हटाएको भन्दै उनले हल सञ्चालकलाई कारवाहीको माग गरेका छन् ।

उनले कारवाहीको माग गर्दै आइतबार चलचित्र निर्माता संघमा लिखित पत्र बुझाएका छन् । पत्रमा निर्मातालाई जानकारी विना नै चलचित्र हटाएको उल्लेख छ । निर्माताको चलचित्र निर्माण र प्रदर्शन गर्ने हक-अधिकारलाई वञ्चित गरि मनोमानी गरेकाले अष्टनारायण हललाई कानुनको दायरामा ल्याएर क्षतीपूर्तीसहित कडा कारवाही गर्न पत्रमा भनिएको छ ।

निर्माता भट्टराईले धेरै पीडित निर्माताको प्रतिनिधित्व गर्दै हल सञ्चालकलाई कारवाहीको माग गरेको बताए । कलाकार समेत रहेका निर्देशक भट्टराईले ‘गुनगुन’ ले राम्रो व्यापार गरिरहँदा अष्टनारायणले चलचित्र हटाएको बताएका छन् । चलचित्रमा सञ्चिता र पुकारका अलावा रविन्द्रप्रताप सेन, सुवास मेचेलगायतको अभिनय रहेको छ ।