चलचित्र पत्रकार संघको आयोजनामा ‘चलचित्र क्षेत्रको बेथिती’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ: नव नियुक्त राजधानीमा चलचित्र पत्रकार संघको आयोजना तथा चलचित्र निर्माता संघको सहकार्यमा ‘चियापान तथा चलचित्र क्षेत्रको बेथिती’को विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाहरुका अध्यक्षहरुको उपस्थित थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा चलचित्र क्षेत्रका समस्याहरु केलाएर चलचित्र पत्रकार संघका सचिव समिर बलामीले दुई पृष्ठ लामो अवधारण पत्र प्रस्तुत गरेका थिए । चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले पछिल्लो समय चलचित्र क्षेत्रमा बेथिती नै बेथिती रहेको बताए । उदयले भने, अहिले चलचित्रकर्मीहरु सबैको मानसिकतामा समस्या भएको बताएका हुन् । ‘पहिलो कुरा त अहिले हामी कोही कसैमा सद्भाव नै राख्दैनौँ । सहयोगको भावना हामीले राख्न छाडेका छौं । हामीमा मानवता भन्ने चिज नै हराएको छ ।’ चलेको सिनेमालाई चलेको स्विकार्न नसक्नु तथा नचलेको सिनेमालाई बढाई चढाई भन्ने गुटबन्दीको समस्या पनि अहिले सिनेमा क्षेत्रले भोगिरहेको उनको भनाई छ ।’

कलाकारको पारिश्रमिकको कुराले पनि चलचित्र क्षेत्रलाई ठुलो असर गरेको उदयको बुझाई छ । उनले भने–‘बर्षमा ३ वटा सिनेमाले नाफा कमाएका छन् । अरु सबैले लगानी समेत सुरक्षित गर्न सकेका छैनन् । तर पनि कलाकारहरुले आफ्नो पारिश्रमिक घटाउन चाहँदैनन् । यो कुराले पनि समस्या दिइरहेको छ ।’ कलाकारले पारिश्रमिक बढाउने भन्दा पनि क्षमता देखाएर प्रतिशतमा काम गर्नुपर्ने प्रदीपले बताए । प्रदिपले सिनेमा क्षेत्रमा इमान्दारिताको अभाव भएको बताए ।

त्यस्तै निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि कलाकारहरुले घाँटी हेरेर हाड निल्नुपर्ने बताए । उनले भने, ‘हाम्रो यो क्षेत्रको अवस्था बुझेर मात्र कलाकारले पारिश्रमिक माग्नुपर्छ ।’ यसको साथै आकाशले कलाकारहरुलाई रिजर्भ बस्नुपर्ने समेत बताए छन् । उनले भने –‘कलाकारहरु जति रिजर्भ बस्यो उति नै चासोमा रहनुहुन्छ । तर, अहिले त कलाकारहरुले आफ्नो पूर्ण दिनचर्या सामाजिक संजालमा पोष्ट गरिदिनाले पनि उहाँहरु सस्तो बन्नुभएको छ ।’ टिकटक, फेसबुक, इन्ष्टा तथा युट्युबमा आएका भिडियो तथा तस्विरहरुले सेलिब्रेटीको क्रेजलाई खस्काइरहेको आकाशले बताए । वितरकहरुको इगो र रिसका कारण निर्माताहरु मारमा परिरहेको उनले बताएका हुन् ।

चलचित्र पत्रकार र चलचित्रकर्मीले उठाएको प्रश्नको चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले जवाफ दिएका थिए । चलचित्र विकास बोर्डले बक्स अफिस लागू गराउने प्रक्रिया अन्तिम चरणमा रहेको भट्टराईले बताए । यस्तै, उनले आफ्नो कार्यकालमा केही त्यस्ता काम गर्ने जुन कामले आउने नयाँ अध्यक्षलाई सहज हुने समेत उनको भनाई छ । उक्त कार्यक्रममा उनले सबैभन्दा पहिले राष्ट्रिय चलचित्र नीति पारित गर्नतर्फ सम्पुर्ण सिनेमाकर्मी तथा सिनेमा पत्रकारले ध्यान दिनुपर्ने पनि सुनाए । चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले सिनेमा पत्रकारहरुको परिचय कसैले खोजिरहन नपर्ने भन्दै पत्रकारले प्रश्न गर्ने अधिकार पाउने बताए ।