निर्धक्क मतदान गर्न कलाकर्मीको आह्वान


(सेलिब्रेटी नेपाल) १ मंगसिर-कलाकर्मीहरूले आसन्न संविधानसभा निर्वाचनमा मतदातालाई चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूले निर्धक्क भएर मतदान गर्न आह्वान गरेका छन्। निर्वाचन आयोगको सहकार्यमा नेपाल चलचित्र निर्देशक समाजले शुक्रबार राजधानीको होटल सोल्टीमा आयोजना गरेको ऐतिहासिक संविधानसभा निर्वाचनमा चलचित्रकर्मीहरूको दायित्व र भूमिका विषयक अन्तक्र्रियामा उनीहरूले यस्तो आह्वान गरेका हुन्।
Director-associtian
नायक राजेश हमालले असहज वातावरणबीच सम्पन्न हुन लागेको निर्वाचनमा मतदान गर्न आह्वान गरे। ‘राजनीतिक र सामाजिकरूपले हामी जटिल मोडमा छौं। निर्वाचन अप्ठ्यारो परिस्थितिमा सम्पन्न हुँदै छ। तर असहजताका बीच पनि हामीले लोकतान्त्रिक अभ्यास गर्नैपर्छ’, उनले देशको राजनीतिक अन्योलतामाथि गुनासो पाख्दै भने‘दलीय सरकारसमेत नभएको अवस्थामा राजनीतिक निकास र मुलुकलाई अघि बढाउनका लागि निर्वाचन मात्रै एक विकल्प हो।’ हमालको भनाइ थियो‘हामीले उदाहरणीय भनिएको संविधानसभाको सुनौलो अवसरलाई गुमायौं। त्यसमा कसले गल्ती गरे पोखिएको दूधमाथि पश्चात्ताप गर्नुभन्दा अबको निर्वाचनमा जुनसुकै पार्टीका भए पनि सक्षम व्यक्तिलाई निर्वाचित गरौं।’ हमालले असन्तुष्ट पक्षलाई उचित स्थान दिनुपर्ने राय पनि व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उपे्रतीले बिनाअवरोध निर्वाचन सम्पन्न हुनेमा विश्वास व्यक्त गरे। ‘सिनेकर्मीहरू राजनीतिप्रति पनि सचेत रहेछन्’, उनले भने‘निर्वाचनमा सक्षम व्यक्तिलाई चुनौं। सबैको साझा संविधान बनाउनका लागि समस्त मतदाताले मतदान गरौं।’ नायिका करिश्मा मानन्धरले भने आफूले जीवनमा कहिल्यै मतदान नगरेको तर यसपालिको निर्वाचनमा मतदान गर्न अन्तिम दिन गएर भए पनि नाम दर्ता गरेको खुलाइन्। ‘मैले फोर्टी प्लस होउन्जेलसम्म लाइफमा कहिल्यै पनि भोट हालेकी थिइन्। तर पछिल्लो समयको राजनीतिक गतिविधिले यति धेरै अवेयर गरेछ कि अन्तिम दिनमा आएर मैले आफ्नो नाम भोटर्स लिस्टमा लेखाएँ’, उनले भनिन्‘आफ्नो अधिकारका लागि पनि हामीले भोट दिनुपर्छ।’ हास्य कलाकार दीपकराज गिरीले भने कलाकारहरू लवाइ–खवाइमा अघि रहे पनि राजनीतिक रूपमा गहन कुरा गर्न अक्षम भएको चर्चा गरे। ‘हामी लवाइ–खवइमा अघि छौं। तर हामी बोल्ने ठाउँमा गहन कुरा राख्न सक्दैनौं’, निर्वाचनको विकल्प नभएको जनाउँदै उनले भने‘जस्तोसुकै प्रतिकूल परिस्थिति आए पनि हामीले मतदान गर्नुपर्छ।’ नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले कलाकारहरू राजनीतिक रूपमा अघि नबढेको र नीतिनिर्माणको तहमा नपुगेको हुँदा राज्यबाट जहिल्यै उपेक्षित हुनुपरेकाले राजनीतिमै उत्रनुपरेको बताए। ‘कलाकारकलाई जहिल्यै पनि गहना मात्रै भनियो। पार्लियामेन्टमा हाम्रो प्रतिनिधि नहुँदा राज्यबाट जहिल्यै उपेक्षित हुनुपरेको छ।’ –उनको भनाइ थियो। संगीतकार शम्भुजित बाँस्कोटाले सबैमा मतदान गर्ने उत्साह रहेको जनाए। ‘मेरो ९४ वर्षकी आमाले पनि भोट हाल्ने इच्छा गर्नुभयो, यसले मतदानमा सबैको उत्साह भएको झल्काउँछ।’ –उनले खुलाए। अभिनेत्री वसुन्धारा भुसालले बीचमा राजनीतिक पार्टीका चरित्र देखेर मतदान गर्ने जाँगर हराए पनि फेरि मतदान गर्ने बताइन्। गायिका कुन्ती मोक्तानले पनि आफ्नो अमूल्य मत आफूलाई मन परेको उम्मेदवारलाई दिनुपर्ने बताइन्।

चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीले पत्रकारले भोट दिनेबाहेकका राजनीतिक क्रियाकलाप गर्न नहुने चर्चा गर्दै निर्वाचनपछि संविधान निर्माणका लागि दबाब दिनुपर्ने बताए। ‘पार्टीहरूको घोषणापत्र हेर्दा दलहरू संविधान बनाउन तत्पर छन् जस्तो अहिले पनि देखिँदैन। त्यसैले निर्वाचनपछि पनि संविधान निर्माणका लागि सबैले आ–आफ्नो ठाउँबाट घचघच्याइरहनु जरुरी छ।’ –उनले भने। कार्यक्रममा गायक राजेश पायलले पनि मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने‘हामीले भोट गर्यौं पटक–पटक, संविधानका लागि भोट गरौं अन्तिमपटक।’ निर्देशक लक्ष्मीनाथ शर्माले दर्शकले कलाकारको फेसनको सिको गर्ने भएकाले मतदानमा पनि अघि सरे त्यसको पनि सिको हुने चर्चा गरे। नायिका निशा अधिकारीले मतदान दान मात्रै नभई नागरिकको कर्तव्य भएकाले मतदान गर्न सबैलाई आह्वान गरिन् भने नेपाल चलचित्र कलाकार संघका महासचिव रामकेशर बोगटीले चलचित्र उत्थानका लागि संविधानको आवश्यक रहेको औंल्याए। निर्देशक उज्ज्वल घिमिरे र नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले पनि संविधान बनाउन सांसद र संसद् बनाउन मतदानको खाँचो हुने भएकाले सबैलाई मतदान गर्न आह्वान गरे। कार्यक्रमका सभापति एवम् नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसीले भने पेसाका कारण आफूहरूले निर्वाचनका लागि चाहेर पनि पूर्णरूपमा भूमिका निर्वाह गर्न नसकेको भन्दै निर्वाचनमा सबैले निडर भएर मतदान गर्नुपर्ने बताए।
समाचारपत्र बाट साभार