पाँच करोड जुटेपछि धुर्मुस–सुन्तली दंग


सेलीब्रेटी नेपाल काठमाडौँ
एकीकृत नमुनाबस्ती निर्माणका लागि काभ्रेको पहरी गाउँबाट सुरु गरेका हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे दोस्रो चरणको नमुना बस्ती निर्माणको क्रममा सिन्धुपाल्चोेकको गिरानचौरमा खटिरहेका छन् । देश विकासको मूल प्रक्रिया भनेको एकीकृत नमुना बस्ती विस्तार भएकाले ‘क्लिन सिटी’ र ‘ग्रिनसिटी’ को अवधारणाअनुरुप भूकम्पपीडितका साथसाथै अपाङ्गमैत्री तथा बालमैत्री र वातावरण मैत्रीसहितको भूकम्पप्रतिरोधात्मक भवन निर्माणकार्य भइरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।
dhurmus-suntali
मेलम्ची नगरपालिका–८ स्थित विपन्न तथा आर्थिक अवस्था कमजोर भएका समुदायको पहिचान गरी तामाङ समुदायलाई प्रत्यक्षरुपमा फाइदा पुग्नेगरी ३० रोपनी क्षेत्रफलको जग्गामा ६५ वटा भवन, पाँचवटा चिल्डे«न पार्क र एउटा खेलकुद मैदानसहितको एकीकृत बस्ती निर्माण कार्यमा कलाकार धुर्मुस र सुन्तली लागिपरेका छन् । निर्माणको लागि जम्मा रु पाँच करोडको बजेट निर्धारण गरेको भए पनि सुरुमा आफ्नो धुर्मुस सुन्तली फाउन्डेसनको अक्षयकोषमा रु एक लाख ७४ हजार हुँदै गर्दा निर्माण कार्य थालेको कट्टेलले जानकारी दिए । देश विदेशमा रहेका नेपाली, विदेशी तथा विभिन्न संघसंस्थाको सहयोगमा अहिलेसम्म पाँच करोड संकलन भइसकेको छ ।