अनुप,वर्षा र मालाको ‘पुरानो बुलेट’ फर्स्टलुक पोस्टर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘पुरानो बुलेट’ ले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्रले अफिसियल प्रचार सुरु गरेको छ । लामो समयको पत्रकारितापछि निर्देशनमा होमिएका भिषण राईको डेब्यू निर्देशनमा तयार भएको चलचित्रको मंगलबार तीन पोस्टर सार्बजनिक गरिएको छ । चलचित्र चैत्र १ गते बाट प्रदर्शनमा आउने छ यस अघि चलचित्रमा समाबेश गीत सार्बजनिक भइ सकेको छ ।सार्वजनिक पोस्टरमा मुख्य कलाकार अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बु फिचर छन् । पात्रहरुको चरित्र चित्रणसहित सार्वजनिक पोस्टरमा अनुप लामो कपाल, त्यसमाथी रुमाल अनि जिन्स ज्याकेटमा देखिएका छन् ।

अर्कोतर्फ बर्षालाई गाउँले भेषमा प्रस्तुत गरिँदा माला केहि बोल्ड देखिन्छिन् । सार्वजनिक पोस्टरबाट चलचित्र भित्र अनुप र बर्षा गाउँले तथा माला शहरिया युवतीको भुमिकामा रहेको भान हुन्छ । ‘पुरानो बुलेट’को यहि फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर हुँदैछ । वर्ल्ड प्रिमियरलाई मध्यनजर गर्दै पोस्टर सार्वजनिक गरेको निर्माण टिमले यो लगत्तै ट्रेलर रिलिज गर्ने तयारी गरिरहेको छ । चलचित्रमा अनुप बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत मुख्य भूमिकामा छन् ।

चलचित्रको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्र ‘पुरानो बुलेट’मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।
चलचित्रमा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश छ भने छायाँकन हरि घले लामाको छ । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ । फेमिली ड्रामा बोल्ने चलचित्रले पुर्बी नेपालको टिपिकल कथा पेश गर्छ ।