अझै पनिले दर्शकको राम्रो साथ पायो


(सेलिब्रेटि नेपाल) काठमाडौँ
शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘अझै पनि’ले सुखद संकेत दिएको छ । प्रिमियरमा रुचाईएको यो चलचित्रलाई हलमा आउने दर्शकले पनि प्रशंसा गरेका छन् । लामो समयपछि एउटा राम्रो र विशुद्द नेपाली चलचित्र हेर्न पाएको भन्दै स्व. निर्देशक आलोक नेम्बाङ्लाई दर्शकले सम्झिएका छन् । ‘अझै पनि’ जस्तै चलचित्र नेपालमा आवश्यकता रहेको बताउँदै दर्शकले साथिभाई तथा आफन्तलाई चलचित्र हेर्न अनुरोध गर्ने बताएका छन् ।
sudarshan-thapa-ajhai-pani
अझै पनि’ देशभरका ४९ हलमा एकसाथ प्रदर्शनमा आएको छ । राजधानीमा मात्र प्रमुख हलसहित १९ हलमा चलिरहेको यो चलचित्रले इनिशियल भन्दा पनि ‘वर्ड अफ माउथ’ले विस्तारै व्यापार बढ्ने वितरक कम्पनीहरुले जनाएका छन् । चलचित्रको काम पोस्टमा रहेकै बेला निर्देशक आलोकले धर्ती छाडेका थिए । करिव आठ सय म्यूजिक भिडियो र दुई चलचित्रहरु ‘सानो संसार’ र ‘कोहि मेरो’ निर्देशन गरेका आलोकले तेश्रो तथा महत्वाकांक्षी चलचित्र ‘अझै पनि’ निर्देशन गरेका थिए । यो चलचित्र नै उनको अन्तिम चलचित्र बन्न पुग्यो ।

‘अझै पनि’मा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, बिपना धिमाल, मिथिला शर्मा, रामशरण पाठक लगाएतका कलाकारहरुको अभिनय रहेको छ । राजेश श्रेष्ठको छायांकन, महेश खड्का, हरि लम्साल, सचिन सिंह र राजनराज सिवाकोटीको संगीत रहेको यो‍‍ चलचित्र पुनम इन्टरटेन्मेण्ट र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा बनेको हो ।