३१ टेलिभिजनलाई प्रसारणका लागि अनुमति


सेलीब्रेटी नेपाल माघ २३ गते-सूचना तथा सञ्चार मन्त्रालयबाट पुस मसान्तसम्म ३१ वटा टेलिभिजनले प्रसारणका लागि अनुपतिपत्र लिएका छन्। गत मङ्सिर सम्ममा ३९ वटा टेलिभिजनले अनुमतिपत्र प्राप्त गरेकामा तीमध्ये राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम ९ क ले तोकेको अवधिभित्र प्रसारण प्रारम्भ नगर्ने आठ टेलिभिजनको अनुमति रद्द गरिएको छ।
सूचना तथा सञ्चार मन्त्रालयमा सोमबार आयोजित प्रवक्ता पत्रकार भेटघाट कार्यक्रममा सो मन्त्रालयका प्रवक्ता नारायणप्रसाद सञ्जेलले ग्लोवल नेपाल नेटवर्क, भूमि टेलिभिजन नेटवर्क प्रालि, म्यूजिक टेलिभिजन नेपाल, मकालु मिडिया प्रालि, सनराइज टेलिभिजन प्रालि, भ्वाइस अफ युथ टेलिभिजन, एरिना टेलिभिजन प्रालि र मधेशका लागि सञ्चारको प्रसारण अनुमतिपत्र रद्द गरिएको जानकारी दिए।
पुस महिनासम्म ५०२ वटा एफएमले प्रसारण अनुमति पाएकामा ३४४ वटा मात्र नियमित प्रसारणमा रहेको उल्लेख गर्दै उनले पुस महिनासम्ममा ७६२ वटा केबुलले प्रसारणको अनुमति प्राप्त गरेको बताए।
चलचित्रकर्मीहरूसँग सम्झौता भई चलचित्रकर्मीको आन्दोलन टुङ्गिएको जानकारी दिँदै प्रवक्ता सञ्जेलले चलचित्रकर्मी कल्याण कोष मार्फत ४ जना चलचित्रकर्मीलाई मासिक वृत्ति प्रदान गर्ने कार्यलाई निरन्तरता दिइएको उल्लेख गरे।
नेपाल पत्रकार महासङ्घको भवन निर्माण गर्न रु १ करोड अनुदान उपलब्ध गराउने विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको र सो सम्बन्धमा मन्त्रिपरिषद्बाट निर्णय भएअनुसारको रकम महासङ्घलाई उपलब्ध गराउन निकासाका लागि अर्थमन्त्रालयमा पत्राचार भइसकेको उनले जानकारी दिए।
प्रवक्ता सञ्जेलका अनुसार आर्थिक वर्ष २०६८/६९ का लागि पत्रपत्रिका वर्गीकरण प्रयोजनका लागि ८७६ वटाले आवेदन दिएको र आव २०६७/६८ को पत्रपत्रिकाको वर्गीकरणको लागि मूल्याङ्कन गर्ने कार्य भइरहेको छ।
सो अवसरमा सिँचाइ मन्त्रालयका प्रवक्ता कमलप्रसाद रेग्मीले दोधारा, चाँदनी क्षेत्रको सिँचाइका लागि शारदा नहरबाट पानी उपलब्ध गराउने योजनाका लागि विस्तृत परियोजना विवरण नेपाली पक्षबाट २०१३ जुन महिनासम्ममा तयार गरिने र भेरी बबई डाइभर्सन बुहउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिने सहमति भएको बताए।
राष्ट्रिय योजना आयोगको सचिवालयका सहायक प्रवक्ता सागर आचार्यले राष्ट्रिय औद्योगिक गणना (प्रत्येक पाँच/पाँच वर्षमा हुने) को तथ्याङ्क सङ्कलन गर्ने कार्य सुरु गरिएको जानकारी दिँदै राष्ट्रिय कृषि गणना २०६८ को नतिजा असार १५ भित्र प्रकाशनमा ल्याइने जानकारी दिए।
ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता पुरुषोत्तम आचार्यले हाल विद्युत्को उच्च माग ९८८ मेगावाट रहेकामा ४५३ मेगावाट आपूर्ति भई ५३५ मेगावाट विद्युत्भार कटौती भइरहेको बताए।
त्यसैगरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता बालकृष्ण घिमिरेले सन् २०१२ मा नेपाल आउने पर्यटकको सङ्ख्या आठ लाख तीन हजार पाँच रहेको जानकारी दिए।