२०७० सालमा प्रदर्शन हुने प्रतीक्षारत चलचित्रहरु कसले बाजी मार्ला ?


(सेलिब्रेटी नेपाल) ४  बैशाख-नयाँ शीर्षक र विषयवस्तुमा आधारित रहेर निर्माण गरिएका मौन, प्रोडूसर,कर्कश, बितेका पल, साँघुरो, बधशाला, मञ्जरी, होस्टेल, उमा, ऋतुलगायतका चलचित्र २०७० सालमा प्रदर्शन हुने प्रतीक्षारत चलचित्र हुन्। यी सबै चलचित्रले फरक फरक विशेषता बोकेका छन्।
प्रोडूसर चलचित्र कर्मी हरुको र चलचित्र निर्माणको समस्याको कथा,कर्कश ब्यान्डमा आधारित संगीत प्रधान, बितेका पल, ऋतु र मौन प्रेमकथा, मञ्जरी र साँघुरो यौन विषयवस्तु, उमा र बधशाला सशस्त्र माओवादी द्वन्द्वमा आधारित तथा होस्टेल कलेजका युवायुवतीको जीवनशैलीमा आधारित चलचित्र हुन्। यी सबै चलचित्रमा पुराना निर्माता र निर्देशकको संलग्नता छैन। नितान्त नयाँ निर्माता निर्देशकले यी चलचित्रलाई बनाएका हुन्। पुरानामा सुरज सुब्बा, छिरिङरितार शेर्पा र मनोज पण्डित छन्।प्रोडूसर म्युजिक भिडियो निर्देशन तथा टेलिभिजन मा अनुभव संगालेका जनाकदिप पराजुलीले निर्देशन गरेका हुन् । ज्योति राज राईको प्रस्तुति रहेको चलचित्र मिडिया कलेक्सन र आर सी पिक्चर्सको संयुक्त ब्यानरमा बनेको हो । चलचित्र बाट संचारकर्मि श्याम अर्याल नायक को रुपमा डेब्यु गर्दै छन् ।  राजेश घतानीको बितेका पललाई सुरजले, मोहन डोटेलको बधशालालाई पण्डित र उमा चाहिँ शेर्पाले निर्देशन गरेका हुन्। विशेष गरी डकुमेन्ट्रीमा दख्खल राख्ने छिरिङले मुखुण्ड र कर्मापछि उमा चलचित्र निर्देशन गरेका हुन्। उमामा ऋचा शर्मा र सौगात मल्लले अभिनय गरेका छन्। माओवादी सशस्त्र द्वन्द्वका क्रममा एउटी छापामार युवतीको घटनामा आधारित रहेर उमा चलचित्र बनाइएको शेर्पा बताउँछन्।
कर्कश चलचित्रको निर्देशन असिफ असलमले गरेका हुन्। पहिलोपल्ट ठूलो पर्दाको चलचित्र निर्देशन गरेका असिफ म्युजिक भिडियोमा नाम चलेका निर्देशक हुन्। प्रदीप उदयको मञ्जरीमा पुराना कलाकार टीका पहारीका छोरा गौरव पहारी नायक छन् भने नायिका हुन् सुजाता कोइराला। चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका छन्। यस्तै, सायद चलचित्र बनाउने टिमले होस्टेल चलचित्र बनाएको छ। होस्टेलमा संयम पुरी, गौरव पहारी र अनमोल केसी नायक छन्। दुर्गिश फिल्मको ब्यानरमा निर्माण भएको होस्टेलका निर्माता सुनिल रावल हुन्।
दासढुंगा जस्तो कलात्मक धारको चलचित्र बनाएर जोखिम उठाएका युवा अपिल विष्टले ऋतु नामक चलचित्र बनाएका छन्। विशेष गरी विदेशमा बस्ने नेपाली युवायुवतीलाई लक्षित गरी बनाइएको ऋतुका निर्देशक मनोज अधिकारी हुन्। मनोजको यो पहिलो चलचित्र हो। ऋतुको सम्पूर्ण सुटिङ अस्टे्रलियामा गरिएको थियो। नायक राजबल्लभ कोइराला अमेरिकामा रहेकाले उनलाई सेड्युल मिल्ने गरी अस्टे्रलियामा छायांकन गरिएको हो। ऋतुमा पूर्वमिस नेपाल मलिना जोशी र रिमा विश्वकर्मा नायिका छन्। एक करोडभन्दा बढी लागतमा बनेको ऋतुलाई २०७० सालकै सबैभन्दा प्रतीक्षारत चलचित्र मानिएको छ।