शम्भुजीत बासकोटालाई लाईफटाईम लिजेन्ड्री अवार्ड


सेलिब्रेटी नेपाल काठमाडौँ

खनाल र रानालाई रजत सम्मान, सुवेदीलाई पत्रकारिता पुरस्कार

नवौं छायाँछबी डि सिने अवार्ड अन्तर्गत यस पटकको ‘छायाँछबी लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’बाट बरिष्ठ सँगीतकार/गायक शम्भुजीत बासकोटालाई सम्मान गरिने भएको छ । चार दशक भन्दा लामो समय देखि सँगीत श्रृजनामा लागेर चलचित्र सहित सबै प्रकारका नेपाली संगीतको संरक्षण, प्रवर्धन र विकाशमा अबिरल योगदान पुर्याएकाले बरिष्ठ सँगीतकार बासकोटालाई यो सम्मानबाट सम्मानित गर्न लागिएको हो । बासकोटा एक दर्जन भन्दा बढी चलचित्रका कथाकार, करिब तीन सय ओटा चलचित्रका संगीतकार, चार हजार भन्दा बढी गीतका सँगीत सर्जक, गायक र गीतकार हुन् । नेपाल टेलिभजिन र चलचित्र विकाश बोर्डका कार्यकारी अध्यक्ष भईसकेका बासकोटा हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हुन् ।

यस्तै ‘छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७३’बाट पुरुष तर्फ अभिनेता सरोज खनाल र महिलातर्फ अभिनेत्री रुपा रानालाई सम्मानित गरिने भएको छ । तीन दशक भन्दा लामो समयदेखि नेपाली चलचित्रबृत्तमा क्रियाशिल यी दुबैले अभिनेता अभिनेत्रीका रुपमा चलचित्र बिजय पराजयबाट अभिनययात्रा सुरु गरेका हुन् । यी दुबै कलाकार तीन दशक देखि रँगमञ्च तथा सनोपर्दाका चलचित्रमा पनि सक्रिय छन् ।

यस्तै यो वर्षको ‘छायाँछबी चलचित्र पत्रकारिता पुरस्कार–२०७४’बाट पत्रकार लक्ष्मण सुवेदीलाई पुरस्कृत गरिने भएको छ । डेढ दशकदेखि पत्रकारितामा निरन्तर लागेका सुवेदी चलचित्र तथा मनोरञ्जन विटमा कलम चलाउँछन् । हाल नयाँ पत्रिकामा बरिष्ठ उपसम्पादकका रुपमा कार्यरत सुवेदीलाई ९ हजार ९ सय ९९ रुपैयाँ र ताम्रपत्रबाट पुरस्कृत गरिने भएको छ । छयाँछबी यस पटक नवौं वर्षमा प्रवेश गरेकाले उनलाई पुरस्कार स्वरुप ९ हजार ९ सय ९९ रुपैयाँ प्रदान गर्न लागिएको हो ।

आगामी २२ असारमा हेटौंडाका ओम्याक्स सिनेमा हलमा ‘नवौं डि सिने अवार्ड–२०७४’ आयोजना गरिँदैछ । सोही अवार्ड समारोहमा यी पुरस्कार प्रदान गरिने निर्णय छायाँछबी क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए ।