खगेन्द्र र बुद्धि सहित ‘डमरुको डण्डिबियो’ मोफसल टुरमा


सेलिब्रेटी नेपाल काठमाडौँ

बैशाख २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘डमरुको डण्डिबियो’ले मोफसल टुर सुरु गरेको छ । पोखराबाट सुरु भएको मोफसल टुर बुटवल , नारायणघाट , हेटौंडा दमक हुदै बिर्तामोड पुगेर राजधानी आइ पुग्नेछ । पोखरामा आयोजित ‘डमरुको डण्डिबियो’को पत्रकार भेटघाटमा बोल्दै चलचित्रका मुख्य पात्र तथा लेखक खगेन्द्र लामिछानेले भने ‘मैले लेख्ने र खेल्ने चलचित्र व्यबसायिकताको लागी मात्रै हुदैन । मलाई कुनै बिषय गहन हो भन्ने लाग्यो भने कथा लेख्छु, चल्ने नचल्ने फरक पाटो हो ।’ ‘डमरुको डण्डिबियो’मा पुर्व राष्ट्रिय खेल डन्डीबियोको कथासँगै पारिवारिक कथा र मायाप्रेमसमेत देखाईएको लामिछानेले बताए ।

अर्का कलाकार बुद्धि तामाङले चलचित्रले पछिल्लो समय युवा पुस्ताले बिर्सेको डण्डिबियो खेललाई स्मरण गराउनेसँगै खेलको महत्व झल्काउने बताए । पर्यटन व्यवसायीसमेत रहेका निर्माता बिनोद गुरुङले बन्दै आएका अन्य नेपाली चलचित्र भन्दा विल्कुल फरक स्वादमा ‘डमरुको डण्डिबियो’ बनेको बताए । छेतेन गुरुङले निर्देशन गरेको चलचित्रमा खगेन्द्र र बुद्दीका अलावा मेनुका प्रधान, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय रहेको छ ।

समृद्दी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । चलचित्रमा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।