कराँते भवन निर्माणका लागि अमेरिकामा म्युजीक फेस्टिभल


सेलिब्रेटी नेपाल काठमाडौँ
अमेरिकामा नेपाली म्युजीक फेस्टिभल–२०१८ हुने भएको छ । पोखरामा कराँते प्रशिक्षण भवन निर्माणार्थ सहयोग जुटाउने उद्धेश्यले हिमालयन फाउन्डेशन कर्पले सो फेस्टिभवल आयोजना गर्न लागेको हो । जुलाई १४ अर्थात् ३० असारमा सनफ्रान्सिस्को स्थिति ओकल्याण्ड मेट्रो ओपेरा हाउसमा हुने फेस्टिवलमा चर्चित गायिका अन्जु पन्त र गायक राजु लामाका साथ द एक्स ब्याण्डले गीत सुनाउने आयोजक हिमालयन फाउन्डेशनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले जानकारी दिएका छन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका यज्ञलालले समाजसेवा गर्ने हेतुले सन् २००६ मा हिमालयन फाउन्डेशन स्थापना गरेका हुन् । फाउन्डेशनले अमेरिका शहरहरुमा च्यारिटी शो गरी संकलन गरेको रकम नेपालका बिभिन्न स्थानमा स्कुल पुननिर्माण, लाइब्रेरी निर्माण, भुकम्पपीडित तथा असहायलाई सहयोग गर्ने गरेको छ ।

‘कराते प्रशिक्षण भवन पूरा हुनै लागेको छ । त्यसका लागि केही रकम आबश्यक परेकाले सबै लागीमिलि गरेका छौ,’ म्युजीक फेस्टिभव आयोजना बारे यज्ञलाल भन्छन्, ‘जहां रहे पनि आफ्नो मातृभूमिका लागि केही गरौं भन्ने उद्धेश्यले प्रेरित छु । सबैको साथ पाउने आश राखेको छु ।’ फेस्टिभल आयोजनामा हिमालय फाउन्डेशनलाई एसबाबु प्रोडक्शनले साथ दिएको छ । केही समयदेखि अमेरिका भ्रमणमा रहेकी अन्जुले कन्सर्टमा आफ्ना दर्जन बढी चर्चित गीत गाउने छिन् ।