जोनी जेन्टलम्यान र लिला प्रदर्शनमा कसले मार्ला बाजी ?


सेलिब्रेटी नेपाल काठमाडौँ

आज सुक्रबार दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।‘जोनी जेन्टलम्यान’ र ‘लिला’ आज बाट प्रदर्शनमा आएका हुन् । ‘म यस्तो गीत गाउँछु’ चलचित्र सफल भएपछि चर्चामा रहेका नायक पल शाहका लागि ‘जोनी जेन्टलम्यान’ धेरै अर्थमा महत्वपूर्ण छ । यस चलचित्रमा पल नायिका आँचल शर्मासँग अनस्क्रिन रोमान्स गर्दैछन् । एक्सन लभस्टोरी चलचित्रलाई एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेका हुन् । ‘जोनी जेन्टलम्यान’मा विकास जोशी, जैन कुँवर, सन्तोष सिलवाल गिरीको पनि अभिनय रहेको छ । रुपेश थापा र रामशरण उप्रेतीको छायांकन रहेको चलचित्रमा पारसविक्रम शाह र देव महर्जनको द्वन्द्व, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको पटकथा र संवाद समाबेश छ ।

रमेश कोइराला निर्देशित सस्पेन्स थ्रिलर लभस्टोरी चलचित्र लिलाले सिस्टम ह्याकसम्बन्धी कथालाई जोडेको छ । सिने दर्पण इन्टरटेन्टमेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा सञ्चिता लुइँटेल, राज कटुवाल, मलिना जोशी, देवीराम पराजुली, सुष्मिता कार्की, मुकुन्दकिशोर भट्टराईलगायतको मुख्य भूमिका रहेको छ ।

लक्ष्मण बस्नेतको लेखनमा बनेको चलचित्रलाई बस्नेत आफैं र बिमला घिमिरेले निर्माण गरेका हुन् । कार्यकारी निर्माता सी पी पौडेल रहेको चलचित्रमा कृष्णहरि बरालको गीत, शिव ढकालको छायांकन, अष्ट महर्जनको द्वन्द्व, सुवास देवकोटाको सम्पादन रहेको छ।