दृष्टिविहीन ब्यक्तिहरुको सघर्षशील जीवनकथा सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

२० जना दृष्टिविहीन ब्यक्तिहरुको सघर्षशील जीवनकथामा आधारित “मनको आँखा” “पुस्तक सार्वजनिक भएको छ ।
इस्पाइनल कर्ड इञ्जुरी पुर्नस्थापना केन्द्र सागाका मेडिकल डाइरेक्टर डा. राजु ढकालबाट बिमोचित उक्त कार्यक्रमको सञ्चालन योगेन्द्र पौडेलले गर्नु भएको थियो भने पुस्तकको समिक्षा डा. देवी नेपालले गर्नु भएको थियो ।

डा. नेपालले पुस्तकको समिक्षा गर्दै यो पुस्तक नेपाली समाजको मानसिक रुपान्तरणको कोशेढुङ्गा सावित हुने कुरा बताउनु भयो । मानसिक भ्रमका जञ्जिर फसेका आजका युवाजमातलाई यो पुस्तकले मार्गदर्शन गर्ने कुरामा जोड दिएको कुरा आफुले अनुभुत गरेको बताउनु भयो । त्यस्तै डा. राजु ढकालले यस्तो महत्वपूर्ण पुस्तकको विमोचन गर्न पाउँदा आफू गौरवान्वित भएको बताउनु भयो ।
यस पुस्तककी पात्र सृष्टि के.शी.ले मानिसले जनावरलाई माया गर्दा ऊ नजिकको हुन्छ भने मानिसले मानिसलाई इज्जत र सम्मान दिए मात्र मानसिक रुपान्तर सम्भव हुने र आफू यस्तै अभियानमा लागेको बताइन् । यस कथाका लेखक कृष्णप्रसाद भण्डारीले शारीरिक अपाङ्गता आफैमा सफलताको बाधक होइन् तर मानसिक अपाङ्गताले समाजलाई विकृत बनाउँछ । अरुलाई शोषण गरेर समाजमा प्रबुद्ध ठान्ने ब्यक्तिभन्दा अपाङ्गताको जीवन प्यारो लागेको बताए ।