हास्यकलाकार,नायक गायकको रुपमा परिचित हरिवंश आचार्य अब बिधिवत रुपमा लेखक



(सेलिब्रेटी नेपाल) १५ बैशाख- हास्यकलाकार, नायक र गायकको रुपमा परिचित हरिवंश आचार्य अब बिधिवत रुपमा लेखक समेत बन्नुभएको छ । उहाँको बहुप्रतिक्षित पुस्तक ‘चिना हराएको मान्छे’ आइतबार सार्वजनिक भएको छ । पुस्तकको शीर्षकसँग मिल्नेगरी आफूले बनाएको हरिवंशको व्यंग्यचित्र देखाएर बरिष्ठ कार्टुनिष्ट दुर्गा बराल -वात्स्यायन)ले पुस्तक सार्वजनिक गर्नुभएको हो ।
हरिवंशकी स्वर्गीय पत्नी मीराको दोस्रो पुण्य तिथि पारेर पुस्तक सार्वजनिक गरिएको हो । ‘छोटाछोटा वाक्य, सरल र अत्यन्त मिठो भाषामा लेखिएको पुस्तक स्थापित लेखकले लेखेको भन्दा कम छैन’ पुस्तक सार्वजनिक गर्दै वात्स्यायनले भन्नुभयो । पुस्तकमाथि टिप्पणी गर्दै लेखक अमर न्यौपानेले भन्नुभयो-’यो पुस्तक एउटा दुखद घटनाले जन्माएको सुखद आविष्कार हो, यो जीवनकथा पढेपछि थाहा हुन्छ-हरिवंश आचार्य त्यस्त कस्तुरी हुन्, जसलाई आफ्नो सुगन्ध बेलैमा थाहा भयो र त्यो अमूल्य सुगन्ध उनले नेपाल र नेपाली सामु उपहार दिए ।’