हराउँदै गए गन्धर्वका बेदनाका गीत


सेलिब्रेटी नेपाल काठमाडौँ

कुनै समय गीत गाउने (गन्धर्व) गाइने दाइ आएनन् भने गाउँघर शुन्य जस्तै बन्थे । एक ठाउँको घटना अर्को ठाउँमा गीतमार्फत सुमधुर स्वरमा गाउँदै जनतालाई मख्ख पार्ने (गन्धर्व) गाइने पछिल्लो समय भएको प्रविधिको विकासले हराउँदै जान थालेका छन् ।

दुई दशकअघिसम्म सूचना र समाचारका स्रोत बन्ने गर्थे गन्धर्वहरु । जनताका पीर व्यथा र देश परदेशका घटनाका वाहक ठानिने गन्धर्व हिजोआज पेशा परिवर्तन गरेर वैकिल्पक पेशाको खोजीमा छन् । समाजमा घटेका घटनालाई जस्ताको तस्तै स्वरको मालामा उनेर सबैको मनै छुने गरी गीत गाउँदै घरघरमा पुग्ने गन्धर्व गायनबाटै जीविका चलाउने अवस्था नरहेपछि पेशा परिवर्तन गरेका हुन् । उमेरले ७५ वर्ष पुगिसक्नुभएका म्याग्दी खबराका लालबहादुर गन्धर्व भने आफ्नो पेशालाई सकिनसकी गाउँगाउँमा पुगेर सुनाउने गर्नुहुन्छ ।

सारंगीको मिठो धुनको तालमा सँगसँगै गीत गाउँदा सुन्ने पनि आनन्दित हुन्छन् जनताले पनि गाइनेको सुरिलो स्वर नसुनेको धेरै भइसकेको छ । पछिल्लो समय गाइने पनि गीत गाउने पेशा छाडेर अन्तै अरु काममा लाग्न थालेका छन् । जसले गर्दा अबका केही वर्षमा कुनै समयका समाचारका स्रोत समाजका सूचक गाइनेलाई गीत गाउँदै हिँडेको कसैले पनि देख्न नपाउने लालबहादुरले बताउनुभयो ।