नाममै विवादित ‘गाजा बाजा’ लाइ एडल्ट सर्टिफिकेट


सेलिब्रेटी नेपाल काठमाडौँ

नाममै विवादित चलचित्र ‘गाजा बाजा’ अन्तत: सेन्सर पास भएको छ । गणेशदेव पाण्डे निर्देशित चलचित्रलाई १६ वर्ष भन्दा मुनिका दर्शकले हेर्न नमिल्ने गरि सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट दिएको छ । पहिले त चलचित्रको शिर्षक नै बिकास बोर्डबाट झमेला परेको थियो । लामो समयको कानुनी प्रक्रिया पश्चात ‘गाजा बाजा’ रिलिजको लागि तयार भयो । फागुन २५ गतेबाट अलनेपाल रिलिज हुन् लागेको चलचित्रको ट्रेलर रिलिज पश्चात सेन्सर होला कि नहोला भन्ने प्रश्न उब्जिएको थियो । तर, सेन्सरले केहि संवादमा ‘विप’ लगाउदै चलचित्रको कुनै पनि अंश नहटाइएको निर्देशक पाण्डेले जानकारी दिए ।

त्यस्तै चलचित्रका निर्माता दिपेन्द्र रेग्मीले ‘गाजा बाजा’ सेन्सर पास हुँदा युद्दनै जिते जस्तो भान भएको बताएका छन् । उनले भने ‘शिर्षकदेखि नै सेन्सरको झमेलामा परियो । कानुनि प्रक्रियाले गर्दा लामो समय तनावै-तनाव झेल्नु पर्यो । ट्रेलर रिलिज पछी पनि केहि नकारात्मक कमेन्टले तनाव उस्तै थियो । अब सेन्सर पास भएको छ । दिपेन्द्रसँगै यहि चलचित्रको अर्का निर्माता गोमा विष्टले संयुक्त रुपमा निर्माण गरिरहेको सिनेमा ‘रणवीर’ अहिले छायाँकनमा रहेको छ ।

भूकम्प पछीको समयमा गाँजाको लागि मरिमेट्ने युवाको गाँजा हन्टिङको १ दिने कथामा बनेको यस कमेडी सिनेमामा सुशील सिटौला र अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा ‘गाँजा बाजा’ निर्माण भएको हो ।