चलचित्र निर्देशक गगन विरहीको निधन


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र निर्देशक गगन विरहीको निधन भएको छ । आइतवार दिउँसो ४ बजे नर्भिक अस्पतालमा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए । ‘झ–झल्को’, ‘मितेरी गाउँ’, ‘शिखर’, ‘घर–आँगन’ जस्ता चलचित्र निर्देशन गरेका विरही लामो समयदेखि कलेजोको समस्याबाट पिडित थिए उनलाई अचानक रुघाखोकी र ज्वरोले गालेपछि गत शनिबार नर्भिक अस्पतालको अति सघन उपचार कक्षमा भर्ना गरिएको थियो । अस्पतालले उनको निधनको कारण निमोनिया र मृगौलामा देखिएको असर बताएको छ ।

निर्देशक विरहीका छोरा अस्ट्रेलिया र छोरी अमेरिकामा छन् । छोरी भने शनिवार नै काठमाडौं आएकी थिइन् । विरहीको आइतवार साँझ नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनी नेपाल टेलिभिजनको पहिलो समाचारवाचक पनि हुन् ।

केही दिन अघिसम्म उनी आफूले रचना गरेको कविता तथा गीतको संग्रह ‘हस्ताक्षर’ विमोचन गर्ने तयारीमा थिए । पिताको सपना छोरी एलिना श्रेष्ठले पूरा गरेकी छन् । निधन हुनुभन्दा २ घण्टाअघि मात्र विरहीको अन्तिम कृति ‘हस्ताक्षर’ नर्भिक अस्पताल परिसरमा विमोचन गरिएको थियो ।