चलचित्र ‘चि मुसी चि’ को पहिलो गीत रिलिज (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

श्रावण ११ गतेलाई प्रदर्शन मिति तय गर्दै नेपाली चलचित्र ‘चि मुसी चि’ को पहिलो गीत रिलिज गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ‘तिमीले माग्छौ भने’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अन्जु पन्त र युवराज चौलागाईँको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा चलचित्रका लिड कलाकार सुनिल क्षेत्री र अलिशा शर्मा फिचर छन् । यी दुईको यो डेब्यू चलचित्र हो । गीतको कोरियोग्राफर अभिनेता क्षेत्री स्वयं हुन् ।

म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्मातामा शिवराज कार्की छन् ।

शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।