फिक्का मंसिर १५ बाट प्रदर्शनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

ग्रामिण क्षेत्रमा व्याप्त गरिवीको विषयवस्तुमा आधारित चलचित्र ‘फिक्का’ को सार्वजनिक प्रदर्शन मंसिर १५ गतेदेखि प्रारम्भ हुने भएको छ । पारिवारिक प्रेमकथालाई समेत चित्रण गरिएको उक्त चलचित्रको निर्माण नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष तथा नेपालकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले गरेकी हुन् ।

युवा निर्देशक जनक खड्काद्वारा निर्देशित उक्त चलचित्रका प्रस्तुतकर्ता अजय सुनार हुन् । उनी जापानमा बसोबास गर्छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको हास्य कार्यक्रम ‘ट्वाक्कटुक्क रिटन्र्स’ का सहायक निर्देशकको रुपमा कार्यरत खड्काले यसअघि २१ वर्षकै उमेरमा चलचित्र ‘२१ वर्ष’ निर्देश्ँन गरेका थिए ।

यसअघि जापानमा प्रदर्शन भैसकेको चलचित्र ‘फिक्का’ मा अजय सुनार, दुर्गाराज पाण्डे, शर्मिला नेपाल, राधिका घिमिरे, ईश्वरी बराल, मुस्कान काप्री आदि कलाकारले अभिनय गरेका छन् । रीता खाती सुनारको लेखन, एनबी अञ्जानको कला निर्देशन रहेको यो चलचित्रमा राजु श्रेष्ठको सम्पादन, अनन्त घिमिरेको कलर करेक्सन, अमित श्रेष्ठले व्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ गरेका छन् । चलचित्रलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् ।

नेपालसहित बेल्जियम, स्पेन, बेलायत, बहराइन सहितका देशमा समेत यो चलचित्र प्रदर्शन हुने चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता अजय सुनारले बताएका छन् ।