‘ए..सोल्टिनी’ असार १५ मा सोलो रिलिज हुने


सेलिब्रेटी नेपाल काठमाडौँ

केही समयअघि गीत र ट्रेलर सार्वजनीक गरिएको ए सोल्टिनी चलचित्रको प्रदर्शन मिति तय गरिएको छ । निर्देशक निमा लामा तामाङले आफ्नो चलचित्र असार १५ गते देखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने जानकारी दिए । दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ,ज्ञानबहादुर जिम्वा, अनिता गोले,गंगा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।

जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको ‘ए सोल्टिनी’ को बितरण आर आर फिल्मले गर्दैछ । तामाङ भाषाका भण्डै एक दर्जन चलचित्र निर्देशन गरिसकेका निर्देशक निमाको ‘ए सोल्टिनी’ पहिलो नेपाली चलचित्र हो । उनले ए सोल्टिनीपछि दोषी को र परदेशले लुटेको सपना नामक नेपाली चलचित्र निर्देशन गरेका छन् ।

काठमाडौ उपत्यका वरिपरि खिचीएको चलचित्रमा सोल्टिनीको माया पाउन सोल्टाहरुले गर्ने संघर्ष र तडप प्रस्तुत गरिएको बताइन्छ । कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट, सबै कुराले आफ्नो फिल्म भरिपूर्ण भएको निर्देशन निमाको दावी छ । बिश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको चलचित्रमा सोमलाल बाइवा र बिनय केटुको संगीत छ । राज गोलेले द्धन्द्ध निर्देशन गरेको चलचित्रको कोरियोग्राफी अभि लामाले गरेका छन् । अरु कुनै चलचित्रले मिति नतोकेकाले ए सोल्टिनी असार १५ मा सोलो प्रर्दशनमा आउने देखिन्छ ।