धुर्मुस–सुन्तलीले निर्माण गर्न लागेको एकीकृत दलित बस्तीको शिलान्यास


सेलिब्रेटी नेपाल काठमाडौँ

धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटको सन्तपुरमा बनाउन लागेको दलित बस्तीको शिलान्यास भएको छ । बुधबार बिहान सन्तपुरकी १०७ वर्षीया रामकलिया देवी हजाराको प्रमुख आतिथ्यतामा बस्तीको शिलान्यास गरिएको हो । परियोजना असोज ४ गतेबाट निर्माण सुरु भई माघ २४ गते हस्तान्तरण गरिने भएको छ । पाँच करोड ७५ लाख रुपैयाँको लागतमा बन्न लागेको बस्तीमा ४५ आवासीय घर, एक भ्युटावर, एक सामुदायिक भवन, एक मन्दिर, सार्वजनिक धारा र शौचालय बन्नेछन् ।

आफ्नो जन्मदिनको अवसर पारेर कलाकार सीताराम कट्टेल धुर्मुसले सन्तपुर–८ मा एकीकृत नमुना दलित बस्ती निर्माणको घोषणा गरेका हुन् । शिलान्यास कार्यक्रममा सहभागी हुन सीताराम कट्टेल र कुञ्जना घिमिरे सुन्तली सन्तपुर पुगेका थिए । ‘जन्मदिनकै अवसरमा आज हामी धुर्मुस सुन्तली फाउन्डेशनले चौंथो परियोजनाअन्तर्गत बाढीपीडित रौतहटस्थित चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा रहेका दलित समुदायका लागि एकीकृत नमुना सन्तपुर बस्तीको सिलान्यास गरेका हुन् ।

कट्टेलले आफ्नो जन्मदिन सन्तपुरमै मनाएका थिए । बस्ती शिलान्यास कार्यक्रममा उपस्थित भएका सहभागीको बीचमा धुर्मुसलाई श्रीमती कुञ्जनाले मिठाई खुवाएकी थिइन् ।