दयाहाङ्ग बन्ने भए भैरे


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्र ‘भैरे’ बन्ने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै दयाहाङ्ग राई, सुनिल थापा, विक्रान्त बस्नेत, सुरक्षा पन्त, बर्षा सिवाकोटी स्टारर यस चलचित्रको पुजाआजा गर्दै औपचारिक घोषणा गरिएको छ । यस चलचित्र लाइ अग्निपरिक्षा, कान्छा, मुटु, ठुली लगायतका चलचित्रहरु निर्देशन गरि सकेका निर्देशक एभरेष्ट सुर्य बोहराले निर्देशन गर्दैछन् । काठमाण्डौ, पोखरा र मुस्ताङ्गमा छायांकन हुने यो चलचित्रको छायांकन मंसिर ४ गतेबाट शुरु हुँदैछ ।

चलचित्र घोषणा कार्यक्रममा बोल्दै निर्देशक बोहराले आफुले भन्दा बढि आफ्नो कामले बोल्ने बताए । ‘मैले भन्दा बढि मेरो कामले बोलोस् । मेरो कामलाई हेरेर यहाँहरुले मुल्यांकन गर्नुहुनेछ’, बोहराले भने । चलचित्रले कस्तो कथा बोल्छ त्यो भने बोहराले प्रष्ट पारेका छैनन् ।

नेपालय सिनेमा इन्टरनेशनल प्रा.लि.को ब्यानरमा बन्ने ‘भैरे’का निर्माता प्रेम प्रसाद पौडेल हुन् । देवि माया अधिकारी कार्यकारी निर्माता हुन् भने यम बराल, लेख बहादुर गुरुङ् (डेनिम) र रघु पुरी सह-निर्माता रहेका छन् । चलचित्रमा दयाहाङ्ग राई, सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, बर्षा सिवाकोटी, बुद्दि तामाङ्ग, अर्जुन गुरुङ्, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतको अभिनय रहनेछ ।

पुरुषोत्तम प्रधानले छायांकन गर्ने यस चलचित्रको कथा निर्देशक बोहराले नै लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको छ । आगामी तीजमा रिलीज लक्ष्य रहेको ‘भैरे’मा बसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत रहनेछ । कविराज गहतराजको नृत्य निर्देशन तथा सुर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहनेछ ।