‘चि मुसी चि’ थाइल्याण्डमा हाउसफुल


सेलिब्रेटी नेपाल काठमाडौँ

गएको हप्ताबाट नेपालमा प्रदर्शनमा आएको सस्पेन्स थ्रिलर जनराको चलचित्र ‘चि मुसी चि’ले विदेश प्रदर्शन थालनी गरेको छ । यस चलचित्रले पहिलो विदेश प्रदर्शनको सुरुवात सुन्दर देश थाइल्याण्डको राजधानी बैंककबाट गरेको छ । बैंककमा रहेको ‘मेजर सिनेप्लेक्स’मा भब्य प्रदर्शन भएको छ । चलचित्र हेर्न सयौं दर्शक उपस्थित भएका थिए । ‘चि मुसी चि’ हेरेका अधिकांश दर्शकले यसको सस्पेन्स पाटो र गीतसंगीत मन पराएका छन् ।

चलचित्रको थाइल्याण्डका विभिन्न शहरमा १२ भन्दा बढी शो हुने बताइएको छ । शनिवार नै थाइल्याण्डको पतैयामा पनि यस चलचित्रको अर्को शो भब्य रुपमा सम्पन्न भएको छ । चलचित्रको प्रदर्शनका लागि कार्यकारी निर्माता शिवराज कार्की र अभिनेता सुशान्त कार्की यतिबेला थाइल्याण्डमा छन् ।

निर्माता कार्की थाइल्याण्डबासी नेपालीबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित छन् । उनले भने, ‘ चलचित्र हेर्नुभएका सबैले राम्रो भन्नुभएको छ । हाम्रो लागि यो ठूलो सफलता हो ।’ यस्तै, अभिनेता सुशान्तले आफ्नो भूमिका रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिए ।
दिनेश श्रेष्ठ निर्देशित ‘चि मुसी चि’मा अलिशा शर्मा र सुनिल क्षेत्रीको पनि प्रमुख भूमिका छ । नेपालसँगै थाइल्याण्डबासी नेपालीले पनि यो जोडीको अभिनयको तारिफ गरेका छन् । यस चलचित्रको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।