राजधानीका २० हलमा बक्स अफिस लागू सञ्चारमन्त्रीले गरे उद्घाटन


सेलिब्रेटी नेपाल काठमाडौँ

लामो समयदेखि प्रतीक्षा भइरहेको बक्सअफिस प्रणाली साउन १ गतेबाट राजधानीका २० वटा हलमा लागू भएको छ । नेपाली चलचित्र निर्माताले अब पारदर्शी हिसाब किताब पाउने भएका छन् । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मंगलवार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा उपत्यकामा बक्स अफिस प्रणालीको उद्घाटन गरेका हुन् ।

राजधानीका ११ वटा मल्टिप्लेक्स र ९ वटा सिंगल थिएटरमा मंगलवारबाट कम्प्युटरमार्फत टिकट काट्न सुरु भएको छ । बाँकी केहि हलमा चाँडै बक्स अफिस सिस्टम जडान गरिने चलचित्र विकास बोर्डले जानकारी दिएको छ । मन्त्री बाँस्कोटाले अगाडि भने, ‘बक्स अफिसका लागि विवाद र दबाब धेरै थिए । सपना साकार हुन्छ भन्ने प्रमाण यही हो ।’ उनले हलहरुको वर्गिकरण हुने बताउँदै विदेशी विज्ञापन लाइ बन्द गरेर नेपाली नै निर्माण गर्नु पर्ने नियम पनि ल्याउन लागेको घोषणा गरेका छन् । बक्स अफिस प्रणालीको उद्घाटन कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । सबैको अनुहारमा बक्स अफिस लागू हुँदाको खुसी देखिएको थियो ।