शाहरूखको ‘जिरो’ असफल लगानी उठाउन धौ धौ


सेलिब्रेटी नेपाल

एजेन्सी : पछिल्लो समय बलिउडका स्टारहरुको फिल्म एकपछि अर्को गर्दै असफल हुँदै गएका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको शाहरूख खान अभिनित अर्को चलचित्र ‘जिरो’को व्यापार बिस्तारै खस्कँदै गएको छ । यति सम्म कि फिल्मले लगानी उठाउन नसक्ने अवस्था देखिएको छ । १८० करोडको बजेटमा निर्माण भएको फिल्मले आफ्नो लगानी उठाउन भारतमा ३ सय करोडभन्दा माथिको व्यापार गर्नुपर्ने हुन्छ तर अहिलेसम्मको व्यापार हेर्दा ‘जिरो’ले १५० करोडको समेत व्यापार नगर्ने स्थिति देखिएको छ ।

तिहारको मौका पारेर रिलिज गरिएको आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ पूर्ण रूपमा असफल भयो । त्यसको चार महिनाअघि बकर इदमा प्रदर्शन भएको सलमान खानको चलचित्र ‘रेस–३’ पनि बक्स अफिसमा सफल हुन सकेन । बलिउडका बक्स अफिस हस्ती मानिएका तीनवटै खान असफल हुँदै गइरहेका छन् ।

‘जिरो’ ले आशातित व्यापार नगर्नुमा शाहरूखको स्टारडम चलचित्रमा दर्शकले नपाउनुलाई लिइएको छ । निर्देशक आनन्द एल रायले प्रयोगका रूपमा राम्रो फिल्म निर्माण गर्न नसकेको फिल्म हेर्दा दर्शकले मनोरञ्जन लिनुको सट्टा तनाव झेल्नुपरेको जस्ता आरोप ‘जिरो’ माथि लागेको छ ।

यो फिल्म होचा पुड्का मानिसहरूको कथा व्याथामा आधारित छ । तर, उनीहरूको कथालाई राम्ररी फिल्ममा उतार्न नसकेको, शाहरूख खानको स्टारडमभन्दा उनलाई होचो पुड्को बनाएर पर्दामा प्रस्तुत गर्न खोजिएकाले पनि ‘जिरो’को व्यापार निराशाजनक भएको दर्शकहरूको टिप्पणी छ ।