बलिउड कलाकारको नेपाल मोहः गोविन्दा नेपालमा, यसअघि अरु को–को आए?


सेलिब्रेटी नेपाल
काठमाडौं ।

बलिउडका चर्चित अभिनेता गोविन्दा यतिबेला नेपालमा छन् । आईतबार काठमाण्डौमा आयोजना हुन लागेको ‘एलजी सिने सर्कल अवार्ड’मा सहभागी हुनका लागि गोविन्दा छोरी टिना आहुजाको साथ शनिबार नेपाल आएका हुन ।

‘एलजी सिने सर्कल अवार्ड’मा विशेष पाहुनाका रूपमा नेपाल आएका गोविन्दाले गोविन्दा वरिष्ठ फिल्मकर्मी किशोर रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिनेछन् । हाल मृगौलाको उपचार गरिरहेका किशोर र गोविन्दा पुराना साथी हुन् ।

काठमाडौं ओर्लिएलगत्तै गोविन्दाले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालबाट आफूले धेरै प्रेम पाएको बताएका छन् । उनले नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने सम्पूर्णलाई नेपालीहरुलाई धन्यवाद दिए । गोविन्दाको नेपाल बसाई तीन दिनको हुनेछ । नेपालमा रहँदा गोविन्दाले पशुपतिनाथ र चन्द्रागिरीको दर्शन गर्ने बताएका छन् । गोविन्दाले नेपाल बसाईका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

सन् १९९० पछि गोविन्दा धेरै पटक नेपाल आइसकेका छन् । अभिनेत्री मनीषा कोइरालाको विवाहमा सरिक हुन पनि उनी नेपाल आएका थिए ।

यसअघि को–को आए नेपाल ?


पछिल्लो समय नेपालमा बलिउड कलाकारहरु आउने क्रम बढ्दै गएको छ । नेपालको विभिन्न संघ संस्थाले आयोजना गरेको कार्यक्रममा बलिउड कलाकारलाई ल्याउने होडबाजीनै चल्न थालेको छ । कोही कलाकार भने चलचित्र छायाँकनका क्रममा नेपाल आउने गरेका छन् । बलिउड अभिनेता अर्जुन कपुर केही दिन अघि मात्रै चलचित्र छायाँकनका लागि नेपाल आए । उनले पोखरामा चलचित्र ‘इन्डियाज मोस्ट वान्टेड’को सुटिङ गरे । जुन चलचित्र २४ मे २०१९ बाट प्रदर्शनमा आउने छ ।

चर्चित भारतिय अभिनेता आमिर खान नेपाल आईसकेका छन् । उनि २०७१ सालमा युनिसेफको कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए । दुई दिने भ्रमणका लागि नेपाल आएका आमिर लुम्बिनी, कपिलबस्तु पुगेर कार्यक्रममा सहभागी भएका थिए ।


त्यस्तै चर्चित बलिउड अभिनेता शाहरुख खान २०७१ सालमै नेपाल आएका थिए । न्यारोल्यक पेन्टसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनि आफ्नो निजी विमानबाट काठमाडौं थिए ।

अक्षय कुमार पनि झण्डै ४ वर्ष अघि हिन्दी चलचित्र ‘बेबी’को छायाँकनका क्रममा नेपाल आएका थिए । सो समयमा उनले ठमेल क्षेत्रमा घुम्दै गर्दाको तस्बिर फेसबुक, ट्वीटर र इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै नेपाललाई शान्त मुलुक भनेर टिप्पणी गरेका थिए ।

२०७४ सालमा चर्चित बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम थियो तर विविध कारणले त्यो कार्यक्रम स्थगित भयो । उनि ‘दबंग द टुर’ लिएर काठमाडौं आउने कार्यक्रम अन्तिममा आएको अनिश्चित बनेको थियो । अब सो कार्यक्रमका लागि सलमान नेपाल आउँछन्, आउँदैनन टुंगो छैन ।

यसअघि थुप्रै बलिउड कलाकार नेपाल आईसकेका छन् । कलाकारहरु सन्नी लियोनी, अनिल कपुर, शत्रुघन सिन्हा, नेहा धुपिया, रबिना टण्डन, जूही चावला, अनुपम खेर, जरिन खान लगायत नेपाल आईसकेका छन् । चर्चित अभिनेता अमिताभ बच्चन बेला बेलामा सुटुक्क नेपाल आउने गरेको सुन्न पाइन्छ ।