‘ब्ल्याक’ पहिलो गीत ‘चङ्गा जस्तै’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

जेठ ११ लाई प्रदर्शनको मिति तय गरेको चलचित्र ‘ब्ल्याक’ निर्माण युनिटले पहिलो गीत सार्बजनिक गरेको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा समावेश पहिलो गीत सार्वजनिक गरेको हो । ‘चङ्गा जस्तै’ बोलको गीतमा लिड अभिनेता आकाश श्रेष्ठ फिचर छन् ।

सार्वजनिक गीतमा प्रतिक पौडेलको स्वर छ भने शब्द संगीत संयोजनको काम पनि प्रतिकले नै गरेका छन् । युवा गायक संगीतकार प्रतिकको आवाज बोल्ने उक्त गीत मुख्यतः युवा पुस्ता लक्षित छ । लभस्टोरी प्याटनको चलचित्रको गीतमा कहिँकतै पार्टी मूडमा त कतै ‘जर्नी मूड’मा विन्दास अबतारमा आकाश अनि उनको टिम देखिएको छ । रामजी लामिछानेले गीतको कथा सुहाउँदो कोरियोग्राफी गरेका छन् ।

अभिनेत्री आँचल शर्मालाई पहिलो गीतमा फिचर गरिएको छैन् । आयोजित कार्यक्रममा पनि राजधानी बाहिर भएको कारण आँचल उपस्थित भइनन् । अभिनेता आकाशले फिल्मको कथाले मन छोएको कारण नै आफु आवद्ध भएको भन्दै रिलिजपछि मेहनतको फल प्राप्त हुने विश्वास पोखे ।

करिब चार बर्षको अन्तरपछि निर्देशनमा फर्किएका निर्देशक प्रदिप श्रेष्ठले पछिल्लो पुस्ताका दर्शकको मनोभावना बुझ्ने गरी सोहि प्रकारको कथावस्तुमा चलचित्र बनाएको बताए । निर्मात्री आश्मा पाण्डेले लगानीको प्रतिफल राम्रो पाउने आशा व्यक्त गरिन् । चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका छन् ।

रामशरण उप्रेतीले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल मुख्य भूमिकामा रहेका छन् ।