भोजपुरीकी हट नायिका पूजा यसरी बनिन् ‘आमा’


सेलिब्रेटी नेपाल काठमाडौँ
चरित्र अभिनयबाट चलचित्रमा प्रवेश गरेकी अभिनेत्री पूजा रिजाल अभिनित चलचित्र ‘मेरी कुसुम’ रिलिजको तयारीमा रहेको छ । यस चलचित्रमा पूजाले आमाको भूमिकामा अभिनय गरेकी छिन् । उनको डेब्यू चलचित्र ‘उहिले बाजेको पालामा’ हो । यो चलचित्र गणेश बेल्वासेले निर्माण गरेका हुन् । उनी भन्छिन्, ‘उहिलो बाजेको पालामाले नै मलाई चलचित्रमा आउन प्रोत्साहन गरेको थियो ।’

भारतको चेन्नईमा जन्मिएर चर्चित बलिउड स्टार रजनीकान्तद्वारा दिइएको छाटो अभिनय प्रशिक्षणबाट पूजालाई चलचित्रमा खेल्न उत्साह थपिएको थियो । ‘मेरी कुसुम’ निर्माता तथा नायक मोहन बोगटी हुन् । बोगटीले पहिलो पटक चलचित्र निर्माण गरेका हुन् । ‘मेरी कुसुमको अभिनय, कथा र एक्सनमा कुनै कमजोरी छैन’, पूजाले भनिन्, ‘फिल्ममा साउथ इण्डियन फ्लेभरमा मेरी कुसुम बनेको छ ।’

हुन त पूजाद्वारा चरिचत्र अभिनय गरिएको अर्को फिल्म ‘कोइला’ पनि रिलिजको डेट कुरेर बसेको छ । ‘कोइला’लाई प्रज्वल गिरीले निर्माण गरेका हुन् । पूजाले भनिन्, ‘कोइला चलचित्रमा मेरो दमदार अभिनय छ । सुकुम्बासीको कथा र मेरो अभिनयमा तालमेल मिलेको छ ।’

नेपाली चलचित्रहरूमा चरित्र अभिनेत्रीको अभिनय गरे पनि पूजाले भोजपुरी चलचित्रहरूमा भने नायिकाको रुपमा काम गर्दै आएकी छिन् । उनले भोजपुरी फिल्म ‘दो दिवानी’मा नायिकाको रुपमा काम गरिसकेकी छिन् । अब पूजाले भाजपुरी चलचित्र ‘बुलिट रानी’मा खेल्ने तयारी गर्दै छिन् ।