‘ठाडोभाका’ अभियन्ता भेडिखर्के साँइलाको निधन


सेलिब्रेटी नेपाल काठमाडौँ

ठाडोभाकाका अभियन्ता दीर्घराज अधिकारी अर्थात ‘भेडीखर्के साँइला’को निधन भएको छ । चौरासी वर्षको उमेरमा आज साँझ उहाँको निधन भएको हो । सुन्दरबजार नपास्थित आफ्नै छोरीज्वाँइको निवासमा उहाँको निधन भएको हो ।

चिकित्सकका अनुसार उहाँलाई एक महिनादेखि दमका साथै ज्वरो, खान मन नहुनेलगायत समस्या रहेको र शरीरमा पानीको मात्रा निकै कम हुँदै गएको थियो । लामो समयदेखि बिरामी पर्दै आउनुभएका अधिकारीको जिल्लास्थित अस्पताल तथा उपचार केन्द्रहरूमा उपचार हुन नसकेपछि उहाँको थप उपचारका लागि काठमाडौँ ल्याईएको थियो ।

काठमाडौँमा उपचारपछि दुई दिनअघिमात्रै लमजुङ फिर्ता लागिएको थियो । विसं १९९० भदौ २९ मा लमजुङको सिन्दुरे, तुर्लुङकोटमा जन्मनुभएका भेडीखर्के साँइला लोपोन्मुख ठाडो भाका (लोकगीतको भाका) गाउने एक मूर्धन्य व्यक्तित्व हुनुहुन्थ्यो । ठाडोभाकाका अभियन्ता भेडिखर्के साँईलाले नौ वर्षको उमेरदेखि गाउन थाल्नुभएको थियो । चर्चित र लोकप्रिय भेडीखर्के साँईलालाई नागरिकहरूले ‘ठाडोभाका शिरोमणी’को उपाधि पनि दिएका थिए ।

दुराडाँडाको ठुलोस्वाराबाट देउबहादुर दुराले गाउन सुरु गरेको ठाडो भाकालाई भेडीखर्के साइँलाले अघि बढाउनुभएको थियो । ठाडोभाका लमजुङको मात्रै नभई पश्चिमाञ्चलको सम्पत्तिका रुपमा रहेको छ । सिन्दुरेमा रहँदा उहाँका बुवाको भेडीगोठ थियो । खर्कमा भेडा पाल्ने र दाजुभाइमध्ये साइँला भएकाले उहाँको नाम ‘भेडीखर्के साँइला’ रहन गएको थियो । पछि यही नाम ठाडोभाकाको पर्यायवाची जस्तै बनेको थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।