लगातार १ सय २६ घण्टा नाचेर गिनिज बुकमा रेकर्ड राख्ने बन्दना नेपालको घोषणा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि १ सय २६ घण्टा लगातार नृत्य गर्ने घोषणा गरेकी छिन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बन्दनाले १ सय २६ घण्टा लगातार नृत्य गरेर ‘विश्व रेकर्ड’ हाँसिल गर्नको लागि आफु तयार रहेको विश्वास दिलाईन् ।

नेपाली संस्कृति र सभ्यतामाथि पश्चिमा संस्कृतिले आक्रमण गरिरहेको बताउँदै नृत्याङ्गना नेपालले त्यसलाई रोक्नको लागि आफूले ‘कल्चरल’ पोशाकमा उक्त नृत्य गर्न लागेको पनि जनाईन् । विगत १५ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएकी बन्दना हाल नयाँ बानेश्वरमा अवस्थित चेल्सी ईन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् । उनले आफूमा सानैदेखि गीत, संगीत र नृत्यमा विशेष रुची रहेको पनि सुनाईन् । बन्दनाले थपिन्, ‘जसको फलस्वरुप मैले विद्यालय तहमा नृत्य सिकें, अहिले नृत्य कक्षा खोलेर बसेकी छु, मैले प्रयास गरेकी छु, म सफल हुन्छु ।’

आगामी मंसिर ७ गतेदेखि १२ गतेसम्म राजधानीको बत्तिसपुतलीस्थित् बिग फुडल्याण्डमा सम्पन्न हुने कार्यक्रममा बन्दना नेपालले पूर्वको मारुनी, नौमती बाजादेखि पश्चिमको देउडा गीतहरुमा समेत नृत्य प्रस्तुत गर्ने छिन् ।