अन्जु पन्त र स्वरुप राज आचार्यलाई यूवा संगीत पुरस्कार



सेलेब्रिटी नेपाल पौष ९-यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार गायिका अञ्जु पन्त र गायक स्वरूपराज आचार्यलाई प्रदान गरिएको छ। राष्ट्रिय युवा सेवा कोषद्धारा आइतबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काइँलाले रु ५० हजार र स्वर्ण पदकसहितको उक्त पुरस्कार संयुक्त रूपमा उहाँहरूलाई प्रदान गर्नुभएको हो। कार्यक्रममा कुलपति काइँलाले यस वर्षको अरनिको युवा कला पुरस्कारबाट मूर्ति तथा चित्रकार इन्द्र खत्री र चित्रकार सञ्जय राई वान्तवालाई संयुक्त रूपमा प्रदान गर्नुभयो । उक्त पुरस्कारको राशि रु ५० हजार र स्वर्णपदक तथा सम्मानपत्र छ । कोषका सदस्यसचिव शङ्करनाथ पाण्डेले विसं २०४८ मा स्थापित नारायणगोपाल युवा सङ्गीत पुरस्कारबाट हालसम्म ३४ र विसं २०५७ मा स्थापित अरनिको युवा कला पुरस्कारबाट हालसम्म २६ युवा कलाकारलाई सम्मान गरिसकिएको जानकारी दिनुभयो।