दुइ स्टार नायक अनमोल र सलिनको भिडन्त ! ‘यात्रा’ संग ‘ए मेरो हजुर ३’ जुध्ने


सेलिब्रेटी नेपाल काठमाडौँ

अहिलेका सबै भन्दा महंगा अभिनेता अनमोल के.सी र पहिलो चलचित्र बाट नै चर्चामा आउन सफल अभिनेता सलिनमान बनियाँ अभिनित चलचित्र एकै दिन प्रदर्शनमा आउने भएका छन् । छायांकनको अन्तिम चरणमा रहेको सलिन अभिनित चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ र फ्लोरमा जाने तयारीमा रहेको अनमोल के.सी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ आगामी नयाँ बर्षको अबसरमा चैत्र २९ गते बाट प्रदर्शनमा आउने भएका हुन् ।

झरना थापाको निर्देशनमा बन्ने चलचित्र ‘ए मेरो हजुर ३’ को असोज ५ गते बाट छायांकन सुरु हुने बताईएको छ । झरनाको चलचित्र बाट नै डेब्यु गरेर सफल बनेका सलिन अभिनित चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ र झरनाको चलचित्र ‘ए मेरो हजुर ३’ एकै दिन प्रदर्शनमा आउने भए पछि उक्त प्रतिष्पर्धा गज्जबको नै हुने देखिन्छ।

केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ सम्राट शाक्यले निर्देशन गरेका छन् चलचित्रको कथा निर्देशक शाक्य संगै आशिष रेग्मी, सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातिले लेखेका हुन् । चलचित्रमा संजय लामाको छायाँकन, कविराज गहतराज/प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन र शम्भुजित बाँस्कोटा/प्रतिक पौडेल/कोबिद बज्रको संगीत रहेको छ।

चलचित्रमा सलिन संगै सलोन बस्नेतको पनि मुख्य अभिनय रहेको छ । सलिन र सलोन संगै चलचित्रमा जाहन्वी बस्नेत, रियर राई, प्रेक्षा बज्राचार्य, मालिका महत, बिशाल कटुवाल, धिरेन शाक्य, राजराम पौडेल, जयनन्द लामा, समृद्दी राई, जुन छ्यांग (चिन), बोबी (केन्या), योगेश जंग कुँवर, राजेश बिसुरल, आईपी आचार्य, नानीकाजी डंगोल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा र बालकलाकारमा अंकित संग्रौला, एन्जल राईको अभिनय रहनेछ ।

चलचित्र ‘ए मेरो हजुर ३’ मा अनमोल केसीको जोडी बनेर झरनाको छोरी सुहाना थापाले डेब्यु गर्दै छिन । ‘ए मेरो हजुर २’ बक्सअफिसमा सफल भएपछि पुनः अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता सलिनमान बनियाँको जोडी तेस्रो सिरिजमा दोहोरिने चर्चा थियो । ‘ए मेरो हजुर ३’ मा अनमोल जोडिएसँगै चलचित्रको दर्शकमा छायांकन अगावैदेखि व्यग्र प्रतिक्षा भइरहेको छ ।