अनमोलको ‘कृ’ कार्तिकमा नआउने भो


सेलिब्रेटी नेपाल काठमाडौँ

अनमोल केसी.अभिनित प्रतिक्षित चलचित्र ‘कृ’ भदौ ८ पछि कात्तिक ३ गतेलाई प्रदर्शन मिति तोकिएको थियो अब चलचित्र कार्तिक ३ गते बाट पनि सार्बजनिक प्रदर्शनमा नआउने भएको छ । तिहारको अवसर पारेर कात्तिक ३ गतेलाई प्रदर्शन मिति तोकेर फस्टलुक रिलिज गरिएपनि छायांकन नसकिएपछि चलचित्रको रिलिज मिति पोष्टपोन्ड भएको खबर प्राप्त भएको छ ।

निर्माता सुवास गिरीले धम्पुसबाट नायक अनमोल केसी, नव नायिका अदिती वुढाथोकीसँगको तस्बिरमात्र सामाजिक संजालमा पोष्ट गरेका छन् । चलचित्रको प्रदर्शन मिति सर्नुको कारण बताउँदै गिरीले भने-‘हाम्रो अन्तिम सेड्यूल मनाङमा छ । करिब १० दिन मनाङमा चलचित्र छायांकन गर्नुपर्ने छ । तर, मौसमका कारण मनाङ जान सक्ने अवस्था तत्काल नभएकाले छायांकन स्थगित गर्नुपरेको हो ।’

नायक अनमोल केसी र निर्माता भूवन केसी अमेरिकाबाट फर्किएपछि मात्र यसको छायांकन मनाङमा गरिनेछ । निर्माता गिरीले चाडै नै नयाँ प्रदर्शन मिति तोक्ने बताए । सुवास गिरी र भूवन केसी निर्माता रहेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरिरहेका छन् । बर्षकै सर्वाधिक प्रतिक्षामा रहेको अनमोल केसी अभिनित यो चलचित्र रोमान्टिक र एक्सन जनरामा आधारित छ ।