नायिका बाट निर्मात्री बनेका अभिनेत्री को को बने सफल


सेलिब्रेटी नेपाल काठमाडौँ
हिन्दू नारीको चाड तीजलाई लक्षित गर्दै निर्माताहरूले वर्षेपिच्छे ‘महिला प्रधान फिल्म’ भन्दै फिल्म प्रदर्शनमा ल्याउँछन्। दर्शकमाझ फिल्म आए पनि ती फिल्मले व्यावसायिक सफलता कमै मात्र चाखेका छन्। बलिउडमा ‘डर्टी पिक्चर’, ‘क्विन’ लगायतका फिल्मले समीक्षात्मक र व्यावसायिक रूपमा सफलता चाखिरहँदा नेपालमा बनिरहेका नारी प्रधान फिल्मको अवस्था भने दयनीय नै छ तर पनि महिला निर्माताहरू नारी लक्षित फिल्म बनाउन पछि हटेका छैनन्।

महिला प्राथमिकताका फिल्म बनाउने निर्मात्रीका रूपमा चिनिएकी नायिका रेखा थापा ‘रुद्रप्रिया’ को तयारीमा छिन्। फिल्म ‘हिरो’ बाट अभिनयमा डेब्यु गरेकी उनी दर्शकमाझ पुरुष सरहकै ‘हिरो’का रूपमा परिचित छिन्। ‘म विभिन्न स्थानमा घुम्न जाँदा त्यहाँका महिलाले भोगेका पीडा, उत्पीडन, हिंसालगायतका विषयलाई विशेष चासो दिन्छु। अनि त्यहीँको कुनै पात्रलाई फिल्मको कथामा प्रस्तुत गरेर दर्शकमाझ ल्याउँछु,’ रेखाले नागरिकसँग भनिन्, ‘म महिला भएकाले पनि उनीहरूको पीडा, व्यथाले मलाई छुन्छ, त्यसकारण पनि मेरा फिल्ममा महिला कथाको बहुलता हुन्छ।’

फिल्म ‘हिम्मतवाली’, ‘काली’ र ‘रामप्यारी’ जस्ता फिल्ममा सशक्त भूमिकामा अभिनय गरेकी रेखा गत जेठ ५ मा रिलिज फिल्म ‘डायरी’ मा खलपात्रको भूमिकामा देखिइन्। उनले ‘डायरी’ मा आफूले केटी मान्छे पुरुषजत्तिको बलियो हुँदैनन् भन्ने अहिलेको समाजलाई चुनौती दिँदै सशक्त अभिनय गरेको बताइन्।

फिल्म ‘कोहिनूर’ बाट निर्मात्री र नायिकाका रूपमा डेब्यु गरेकी स्वेता खड्का नयाँ फिल्म ‘कान्छी’ बनाउँदैछिन्। फिल्म ‘कोहिनूर’ मा शीर्ष भूमिकामा देखिएकी उनी ‘कान्छी’ मा पनि ‘कान्छी’ नै बनेकी छिन्। ‘अघिल्लो फिल्ममा महिला बेचबिखनको कथालाई दर्शकमाझ पस्केका थियौं। ‘कान्छी’ मा पनि महिलाकै कथा भए पनि गाउँले महिलाको अवस्थालाई चित्रण गर्नेछौं,’ स्वेताले भनिन्, ‘महिलाको यही विषय भन्ने छैन, तर सबै कुरा फिल्ममा समेट्नेछौं।’

उनले नायकको अगाडि वा पछाडि मात्र नायिकालाई देखाइने गरेकोमा त्यो शैलीलाई तोड्दै महिला पात्र पनि सशक्त भूमिकामा आउन सक्छन् भन्ने सन्देश नयाँ फिल्ममा देखाउन खोजेको बताइन्। थुप्रै फिल्ममा नायिकाका रूपमा अभिनय गरेकी ऋचा शर्मा फिल्म ‘आधा लभ’ मार्फत निर्मात्रीको रुपमा अगाडि आउँदैछिन्। एउटा अपार्टमेन्टमा बस्ने पात्रहरूको विषयमा रहेर निर्माण गरिएको यो फिल्ममा ऋचाकै भनाइमा पाँचवटा कथा छन्। ‘ती कथामध्ये दुई कथाचाहिँ महिलाकै विषयमा छ। समलिंगी दुई महिला पात्रको कथा फिल्ममा दर्शकले हेर्न पाउँछन्,’ फिल्ममा मुख्य भूमिकामा समेत देखिने ऋचा भन्छिन्, ‘तर अझै पनि दर्शक हिरोले १० जना पुरुषलाई फाइटमा लडाउँदा ताली बजाउँछन्। महिलाले एक्सन गर्दा हावादारी मान्छन्। त्यो सोचलाई अझै पनि हामीले तोड्न सकेनौं।’

गत जेठ ५ गते रिलिज भएको फिल्म ‘डायरी’ बाट निर्माताका रूपमा डेब्यु गरेकी नायिका छुल्ठिम गुरुङ फिल्ममा शीर्ष भूमिकामा थिइन्। फिल्मको स्त्रि्कप्ट पढ्दासम्म नायिकामात्र रहेकी छुल्ठिम स्त्रि्कप्ट हेरिसकेपछि निर्मात्री नै बनिन्। ‘डायरी पनि महिलाकै विषयमा बनेको फिल्म थियो। दिदीको हत्या भएपछि त्यसको बदला लिन बहिनीले गरेको संघर्ष देखाइएको थियो,’ उनले भनिन्, ‘मलाई महिला अस्तित्वका फिल्मी कथा मन पर्छ, डायरीमा पनि दर्शकले त्यस्तै कुरा हेर्न पाए।’

यसरी गर्छन् कलाकारको छनोट

आफूबाहेक अन्य पात्रलाई फिल्ममा अनुबन्ध गर्नु निर्माता र निर्देशकका लागि जोखिमकै काम हो। अभिनय, नृत्य, संवादलगायतका प्रमुख आवश्यकीय क्षेत्रलाई नियालेर निर्माताले कलाकारलाई फिल्ममा अनुबन्ध गर्छन्। महिला निर्मात्रीको कलाकार छनोटको दायरा पनि फरक किसिमको छैन।

नायिका तथा निर्मात्री रेखा कलाकारको स्वभाव र क्षमतालाई नियालेर मात्र फिल्ममा अनुबन्ध गर्छिन्। ‘म निर्माताको रूपमा मात्र रहँदा मेरो पात्रमा अरुले न्याय दिन सक्छन् वा सक्दैनन् भनेर उसको कडा स्वाभाव, अभिनय क्षमता, हिरोइनजस्तो लुक्स र हरेक किसिमका क्षमता नियाल्छु,’ रेखा भन्छिन्, ‘अहिले फिल्म क्षेत्रमा नायिकाहरू अभिनयमा अब्बल छन्, त्यसकारण पनि कलाकारको अभाव महसुस गर्नु परेको छैन।’

बाल्यकालदेखि नै नेपाली फिल्म हेर्ने गरेकी नायिका तथा निर्मात्री स्वेता महिला कलाकारमा प्राकृतिक अभिनय कला चाहन्छिन्। ‘म हिरोइज्मभन्दा पनि उनीहरूको प्राकृतिक अभिनय हेर्छु किनभने नाटकीय अभिनय र वास्तविक अभिनय फरक कुरा हुन्। उनीहरूको अभिनयले दर्शक प्रभावित होऊन् भन्ने मेरो सोच हो,’ स्वेताले भनिन्।

निर्मात्री ऋचाको बुझाइ पनि रेखा र स्वेताको भन्दा फरक छैन। ‘मेरो ठाउँमा अरु कलाकारले अभिनय गर्दा पहिला उसको अभिनय नै हेर्छु। उसले आफ्नो चरित्रमा डुबेर अभिनय गर्छ वा गर्दैन। त्यसमा विशेष ध्यान दिन्छु,’ ऋचा भन्छिन्, ‘कलाकारले अभिनयको भविष्यप्रति कस्तो सोच राखेको छ, त्यो पनि अध्ययन गर्छु। किनभने अनुहार देखाउनकै लागि फिल्ममा अभिनय गरेर हुँदैन, दर्शकको मन जित्न सक्ने अभिनय गर्नुपर्छ।’

निर्मात्री छुल्ठिम कलाकार भएपछि सबै किसिमको अभिनय गर्न सक्ने क्षमता हुनुपर्ने बताउँछिन्। ‘अभिनयको दायरा हुँदैन, त्यसकारण हरेक किसिमका अभिनय गर्न सक्ने व्यक्ति नै योग्य कलाकार हुन्छ। मेरो दायरा पनि यही नै हो,’ उनी भन्छिन्।

जीवितै छ आशा

दर्शकको रोजाइमा पुरुष प्रधान फिल्म परे पनि महिला निर्माताचाहिँ आफ्नो फ्लेबरको फिल्म बनाउन अझै पछाडि सरेका छैनन्। आफ्नो आशालाई सुरक्षित गर्दै अभिनयलाई नाटक सोच्ने दर्शकको मनस्थितिलाई बदल्न महिला प्रधान फिल्म बनाइरहने उनीहरूको योजना छ।

निर्मात्री ऋचा आफूहरू मुख्य भूमिकामा रहेको फिल्ममा दर्शकले रुचि नदेखाए पनि अझ राम्रा फिल्म बनाउन दृढ रहेको बताउँछिन्। ‘फिल्म ‘उमा’ मा म, ‘मायाज बार’ मा निशा अधिकारी र ‘सुन्तली’ मा प्रियंका कार्कीले शीर्ष भूमिकामा अभिनय गर्दा दर्शकको साथ पाइएन,’ ऋचा भन्छिन्, ‘विश्वमा बाहुबली २ हिट भइरहँदा अघिल्लो वर्ष दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा’ ले फिल्मको व्यापारमा ऐतिहासिक रेकर्ड राख्यो। महिला निर्माता, निर्देशक वा कलाकारले गर्न नसक्ने केही छैन, तर त्यसमा दर्शकको साथ चाहिएको छ।’ उनले आफू फिल्म निर्माणको सुरुवाती चरणमा भएकाले आगामी फिल्ममा दर्शकले महिला प्राथमिकताको विषय बढी पाउने दाबी गरिन्।

नेपालमा डिजिटल प्रविधि नभित्रँदासम्म महिला प्रधान फिल्म सुपरहिट भएको उदाहरण दिँदै नायिका तथा निर्मात्री स्वेताले त्यो अवस्था चाँडै पुनः दोहोरिने दाबी गरिन्। ‘नेपाली फिल्म पहिलाभन्दा राम्रो बनिरहेको छ। दर्शक पनि महिला प्रधान फिल्म राम्रा बन्छन् भन्ने कुरा बुझ्न थालिसकेका छन्। त्यसकारण पनि हामीले बनाएका फिल्मले पनि दर्शक तान्छन् भन्ने आशा छ, ‘ उनले भनिन्।

अभिनेत्री करिश्मा मानन्धर, निर्देशक सम्झना उप्रेती रौनियार, निर्मात्री प्रज्ञा जोशी, नायिका केकी अधिकारी, नम्रता श्रेष्ठ पनि फिल्म निर्माता हुन्। करिश्माले ‘ढुकढुकी’, ‘बाबुसाहेब’, ‘फागू’ बनाइसकेकी छिन् भने सम्झनाले फिल्म ‘मेघा’ मा लगानी गरेकी छिन्। प्रज्ञा फिल्म ‘नोटबुक’, ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’, ‘सम्झना’ का निर्माता हुन् भने केकीलाई ‘लभ सासा’ कार्यकारी निर्माताका रूपमा पनि देख्न सकिन्छ। नायिका नम्रताले पनि फिल्म ‘सोल सिस्टर’ निर्माण गरिसकेकी छिन्।
नेमिष गौतमको लेख नागरिक बाट जस्ताको तेस्तै